काठमाडौँ
नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनु पर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ । राष्ट्रबैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । तर गभर्नर डा. चिरञ्जीवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन् ।
गत १५ साउनमा धुल्याउन (नोट नष्ट गर्न) टेबलमा मिलाएर राखिएका मध्ये हजारका नोटको बिटा शाखा प्रबन्धकले गन्दा ३ नोट कम थिए । अपुग ३ हजार सम्बद्ध सहायक निर्देशक इन्द्रप्रसाद शर्मालाई तिराई नोट धुल्याइएको थियो । जब कि टेबलमा नोटको थुप्रो नै थियो, शंका लागे पनि अरू बिटा गन्दै नगनी घटना थामथुम पारिएको थियो । तर कर्मचारी बीच चर्चा चलेपछि शाखा प्रबन्धकले सिसिक्यामेराको फुटेज हेरे । कर्मचारीले नोटको बिटाबाट पैसा तान्ने मात्र होइन, बिटा नै खल्तीमा हालिरहेको भिडियो देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय कार्यालयमा पठाइएको थियो ।
जलाउनु पर्ने नोटको वैधानिकता समेत राष्ट्र बैंकबाट नष्ट गरिन्छ, त्यसैले त्यस्तो नोट खोटा हुन्छ । खोटा नोट राख्ने कर्मचारीलाई फौज्दारी अपराधमा मुद्दा चलाएर दण्डित गर्नु पर्नेमा राष्ट्रबैंक नेतृत्वले विभागीय कमजोरीको रूपमा मात्र लिएको देखिन्छ । त्यसैले साउनमा भएको घटनाको अनुसन्धान , कारबाही गर्न मंसिरमा बल्ल छानबिन समिति बनाइएको थियो । राष्ट्रबैंकले गठन गरेको छानबिन समितिले स्थलगत अध्ययन गर्दा ठगी भयानक देखिएको थियो । बैंकको विराटनगर शाखाका एक अधिकारी भन्छन्, ‘अधिकारीहरूले नै नोटका बिटा खल्तीमा हालेको देखियो ।’ सिसिक्यामेरामा चार दिन अघि सम्मको फुटेज मात्र सुरक्षित थिए, तैपनि त्यस्तो ठगीको पर्याप्त दृश्य कैद भएको थियो ।
पैसा खल्तीमा हाल्दै गरेको अवस्थामा देखिएका सहायक निर्देशकद्वय इन्द्रप्रसाद शर्मा र सुदिर पौडेल तथा कार्यालय सहयोगी मुनेश्वर डोमलाई फागुन १० गते बल्ल बर्खास्त गरिएको थियो । दोषी कर्मचारीलाई प्रहरी मार्फत फौज्दारी अभियोग लगाउने कि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत भ्रष्टाचारको मुद्दा लगाउने भन्नेमा सुरुमा छानबिन समिति नै अन्योलमा थियो । अन्तमा भ्रष्टाचार मुद्दा लगाउने निष्कर्ष समितिले निकाल्यो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया