पोखरा

आलु उत्पादनका दृष्टिले अब्बल मानिएको हेम्जामा बिहीबार देखि नवौं संस्करणको आलु महोत्सव सुरु भएको छ । "/>

कास्कीको हेम्जामा आलु महोत्सवको रौनक यस्तो !

कास्कीको हेम्जामा आलु महोत्सवको रौनक यस्तो !

केन्द्रबिन्दु
0
Shares

पोखरा

आलु उत्पादनका दृष्टिले अब्बल मानिएको हेम्जामा बिहीबार देखि नवौं संस्करणको आलु महोत्सव सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र कृषि पर्यटनमा जोड दिनका लागि आलु महोत्सव गरिएको आयोजकले बताएका छन् ।

विष्णुुपादुका क्लब हेम्जा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइको आयोजनामा सुरु भएको महोत्सवको प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । ‘सुन्दर ठाउँ हेम्जा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन भएको महोत्सव चैत ३० गते सम्म सञ्चालन हुनेछ । महोत्सव सुरु हुनु अघि स्थानीय मिलनचोकबाट झाँकी निकालिएको थियो । आमासमूह, क्लब, कृषक समूह लगायतको सहभागितामा निकालिएको झाँकी महोत्सवस्थल पुगेको थियो। महोत्सवमा आलुको प्रतिकिलो मूल्य ३३ रुपैयाँ तोकिएको मूल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए ।

विविध कृषि उत्पादनको प्रवर्द्धन तथा कृषि पर्यटनको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्कीले बताए । उद्घाटन अवसरमा स्थानीय कृषकले आलु सहितका तरकारीबाट बनेका विभिन्न माला, पोसाक लगाएर मेला भर्न पुगेका दर्शकलाई आकर्षित गरेका थिए । महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश समृद्धिका लागि मेला महोत्सव सहयोगी हुने बताए । प्रदेश सरकार चालु र आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागेको हुँदा कृषि क्षेत्रलाई प्राथमिकता दिने गरी बजेट छुट्ट्याउने उनले बताए । मन्त्री गुरुङले विकासका लागि बाधक कोही नभएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।

महोत्सवमा आलुका परिकारका स्टल सहित व्यावसायिक स्टल पनि रहेका छन् । त्यस्तै कृषि प्रविधि प्रदर्शनी, प्राथमिक उपचार केन्द्र र सूचना केन्द्रका स्टल रहेका छन् । महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन आलुको पहाड निर्माण गरिएको छ । सधैं झैं आलुका विभिन्न परिकार, ताजा तरकारी प्रदर्शन, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा सांगीतिक समूहको प्रस्तुति, स्थानीय भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हास्य कलाकारको प्रस्तुति रहने आयोजकले बताएका छन् ।

पोखरा बजारबाट करिब १० किलोमिटर दूरीको हेम्जामा करिब ४ सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ। हेम्जामा विशेष गरी एमएस ४२ जातको आलु लगाइने गरिएको छ । यसका अलावा खुमल सेतो कुफ्रोज्योति, खुमल लक्ष्मी, जनकदेव जातको आलु पनि खेती हुन्छ । वार्षिक करिब ६ हजार मेट्रिक टन आलु उत्पादन हुँदै आएको किसानले बताएका छन् ।
नागरिकबाट

Logo