काठमाडौं

प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैत सम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । "/>

५५ सदस्य जम्बोटोलीको नेतृत्व गर्दै चैत २३ मा ओली भारत जाने

५५ सदस्य जम्बोटोलीको नेतृत्व गर्दै चैत २३ मा ओली भारत जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैत सम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीन दिने भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उत्तराखण्डको पन्तनगरस्थित गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको आयोजनामा हुने कार्यक्रममा पनि भाग लिनेछन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा जम्बो टोली रहने भएको छ । परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबै सहित जम्मा ५५ सिट बुकिङ गरेको छ । २३ चैतमा काठमाडौंबाट दिल्ली र २५ चैतमा दिल्लीबाट काठमाडौंका लागि सिट बुक गरेको हो । ‘सम्माननीय प्रधानमन्त्रीको भ्रमणका लागि भिभिआइपी उडान गर्नु पर्ने भनेर ५५ सिट रोकिएको छ,’ एयरलाइन्सका एक उच्च अधिकारीले भने । जम्बो प्रतिनिधिमण्डल आउने भए पनि प्रधानमन्त्रीले सपिङ लिस्ट ल्याउने छैनन् । भारतका तर्फबाट नेपाललाई सहयोग घोषणा हुन सक्ने, तर त्यसमा नेपालले सपिङ लिस्ट नबुझाउने नेपाली पक्षको तयारी छ ।

पहिलो कार्यकालमा ७ फागुन ०७२ मा ओलीले भारतको राजकीय भ्रमण गर्दा पनि ओलीले कुनै तयारी विषयसूची लगेका थिएनन् । त्यतिखेर उद्योगी–व्यवसायी बाहेक ४५ जनाको टोली भ्रमणमा थियो । टोलीमा प्रधानमन्त्री पत्नी सहित सबैमन्त्री, मन्त्रालयका सचिवहरू, सुरक्षाकर्मी र सरकारी सञ्चारकर्मीसमेत थिए । उद्योगी–व्यवसायी निजी खर्चमा गएका थिए, दिल्लीमा उनीहरूको बसोवासको प्रबन्ध भने सरकारले नै गरेको थियो । यसअघिका सबैजसो प्रधानमन्त्रीको भारत भ्रमणमा उद्योगी–व्यवसायी निजी खर्चमै जाने गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण दल भने अझै तय भइसकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट भाजपाका नेता तरुण विजयले ओलीलाई स्वागत गर्न भारतको संस्थापन पक्ष व्यग्रतासाथ प्रतीक्षा गरिरहेको बताए । ‘प्रधानमन्त्री ओलीजीलाई स्वागत गर्न भारतको संस्थापन पक्षले सम्पूर्ण तयारी गरिरहेको छ, उहाँको सम्मानमा कुनै बाँकी रहने छैन र उहाँको भ्रमणपछि नेपाल र भारतबीच बुझाइमा कुनै पनि दूरी बाँकी हुने छैन,’ नेता विजयले भने ।

तय भए अनुसार प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको नियमित उडानबाट २३ चैतमा दिउँसो दिल्ली ओर्लंदै छन् । ओलीको सम्मानमा नेपाली दूतावासले २३ चैतमा रात्रिभोज आयोजना गर्दै छ । २४ चैतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम तय भएको छ । दिवाभोज अघि ओली र मोदीबीच एकान्त वार्ता हुनेछ भने त्यसपछि औपचारिक प्रतिनिधि मण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा हुनेछ ।

तत्कालीन प्रधानमन्त्री देउवा ८ भदौमा भारत भ्रमणमा आउँदा निर्माण गर्ने भनिएका परियोजना कार्यान्वयन अघि बढेको छैन । नेपालले परियोजनाको प्रतिवेदन तयार गर्ने र सम्बन्धित भारतीय निकायसँग छलफल गर्ने भनिए पनि काम हुन नसकेको नेपाली पक्षको भनार्इ छ । नेपालका तर्फबाट तदारुकता नदेखाउँदा नयाँ प्रधानमन्त्रीको भ्रमणमा पनि पुरानै एजेन्डामा छलफल गर्नु पर्ने बाध्यता रहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् । यसपटक पनि पञ्चेश्वरको डिपिआर सम्पन्न गर्ने, माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना निर्माण, पूर्वपश्चिम रेल्वे निर्माणमा भारतीय सहयोग, काठमाडौं–वीरगन्ज रेल्वे जस्ता विषयमा छलफल हुने बुझिएको छ ।
नयाँ पत्रिकाबाट

Logo