काठमाडौँ
एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधान सम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको हो । दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद बनाउने सहमति समेत भएको छ ।
परिषद्लाई महाधिवेशन अगावै नेतृत्व फेर्ने देखि विधान परिवर्तन गर्ने सम्मको अधिकार रहने छ । दुई वर्ष भित्र सम्पन्न हुने एकता महाधिवेशन अघि सम्म दुवै पार्टीका नेता व्यवस्थापनका लागि मात्र कार्यदलमा परिषद बनाउने समझदारी भएको हो ।
‘कार्यदलमा एकीकृत पार्टीको तहगत सांगठनिक संरचनामा समझदारी भएको छ,’ एमाले सचिव गोकर्ण विष्टले भने, ‘केन्द्रमा राष्ट्रिय प्रतिनिधि परिषद समेत राख्ने गरी एकीकृत पार्टीको सांगठनिक संरचना निर्माण हुनेछ ।’ उनले केन्द्रीय कमिटी भन्दा तल र प्रदेश संगठन भन्दा माथि राष्ट्रिय प्रतिनिधि परिषद बनाउने समझदारी भएको बताए । कम्युनिस्ट पार्टीमा महाधिवेशनपछि परिषद्लाई शक्तिशाली निकाय मानिन्छ ।
यता एकीकृत पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटी वा पदाधिकारीको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी लगाउने कि नलगाउने भन्नेमा विवाद देखिएको छ । एमालेका अधिकांश नेता पार्टीले नवौँ महाधिवेशन देखि कार्यान्वयनमा ल्याएकाले निरन्तरता दिनु पर्ने पक्षमा छन् भने माओवादी नेताहरूले खुला राख्नु पर्ने तर्क गरेका छन् । यद्यपि कार्यदलकै एमालेका एक नेताले एमाले भित्र पनि उमेर हदबन्दी राख्ने कि नराख्ने मतैक्य नरहेको बताए । एमाले उपाध्यक्ष वामदेव गौतमले उमेर हद राख्न नहुने भन्दै एमाले र माओवादी नेताहरू समक्ष लबिङ गरिरहेका छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया