काठमाडौँ
प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेको प्रति आपत्ति जनाएको छ ।
हिजो बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिल मात्र भएको भन्दै युरोपियन युनियनको प्रतिवेदनलाई अनधिकृत र आपत्तिजनक भनिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए । बैठकले निर्वाचन पर्यवेक्षकका रुपमा जारी गरिएको प्रतिवेदन फिर्ता लिन युरोपियन युनियनलाई आग्रह समेत गरेको छ ।
काउन्सिल जस्तो संस्थाले आमसञ्चार माध्यमको क्षेत्रमा कर्तव्य र जिम्मेवारी निर्वाह गर्न कमजोर र अप्रभावशाली देखिन्छ भन्ने कुरा प्रतिवेदनमा युरोपियन युनियनले उल्लेख गरेको छ । बैठकले काउन्सिल बाहेक सञ्चारमाध्यमको निर्वाचनको समयमा आचारसंहिता अनुगमन गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै युरोपियन युनियनले नेपाली सञ्चारमाध्यमको अनुगमन गरी प्रतिवेदन समेत सार्वजनिक गर्नु गैरकानूनी र अधिकार क्षेत्रको हस्तक्षेपका साथै नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता माथिको हस्तक्षेप गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए ।
युरोपियन युनियनलाई नेपाल र नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान माथि हस्तक्षेप नगर्न आग्रह गर्दै बैठकले जातीय तथा साम्प्रदायिकता भड्काउने र काउन्सिलका पदाधिकारीलाई राजनीतिक दलसँग जोड्ने युरोपियन युनियनको कार्यप्रति काउन्सिलले आपति जनाएको छ ।
रासस































प्रतिक्रिया