ललितपुर
पाटन दरबार स्क्वायर परिसरमा रहेको हरिशंकर मन्दिरको दक्षिण–पश्चिमपट्टिको पेटी अतिक्रमण गरेर सयौं वर्ष देखि सञ्चालित पसल हटाउन नसक्दा पुनर्निर्माण प्रभावित भएको छ । सत्रौं शताब्दिमा बनेको मन्दिर तीन वर्ष अघिको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको छ । तर पेटी ओगटेर सञ्चालन भइरहेका पसलका कारण पुनर्निर्माणको काम अघि बढ्न नसकेको ललितपुर महानगरले जनाएको छ । पछिल्लो पटक पुस १४ मा पुरातत्व विभाग, गुठी संस्थान र महानगरको संयुक्त बैठकले १५ दिन भित्र पसल हटाउन आग्रह गर्दै जारी गरेको सूचना समेत कार्यान्वयन हुन सकेको छैन । तीन महिना बितिसक्दा पनि पसल खाली नगरी व्यापारीहरूले असार सम्म समय मागेको ललितपुरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।
पुनर्निर्माणको काममा बाधा नपु¥याउन आग्रह गरेको महर्जनले बताए । त्यहाँ पसल सञ्चालन गर्न एक सय ५७ वर्ष पहिले नै स्वीकृति दिइएको कागजात भेटिएको उनले जानकारी दिए । अहिले त्यहाँ ५६ वटा पसल सञ्चालित छन् । दरबार हेरचाह तथा सम्पदा संरक्षण पुरातत्व विभागका प्रमुख काजी प्याकुरेलका अनुसार दरबार स्क्वायर परिसरमा सयौं वर्ष नाघेका पसल सञ्चालनमा छन् । ती पसल मन्दिरको आयआर्जन नभएका बेला पूजाआजाको खर्च जुटाउन सञ्चालन गर्न दिइए पनि कसैको स्वामित्वमा नरहेको जानकारी दिए । उनले भने, ‘व्यापारीहरूले वर्षौं देखि ती पसल ओगटिरहेका छन् ।’
चार पुस्ता देखि सञ्चालित ती पसलले डेढ सय देखि हजार रुपैयाँ सम्म भाडा दिँदै आएको तर ६ वर्षयता त्यो पनि नतिरेको गुठी संस्थानले जनाएको छ । गुठी संस्थान अन्तर्गत ४० वटा पसल सञ्चालनमा रहेको उनले जानकारी दिए । उनले भने, ‘६ वर्ष देखि कसैले भाडा तिरेका छैनन् । ती पसललाई लामो समय देखि हटाउन प्रयास गरिएको हो तर सकिएको छैन । उनीहरू नहटेको खण्डमा विकल्प सोच्नेछौं,’ गुठी संस्थानका प्रमुख, शैलेन्द्र पौडेलले भने, ‘हरिशंकर मन्दिरको पेटी ओगटेका दुईवटा पसल तत्काल खाली गर्न निर्देशन दिएका छौं ।’
अन्नपूर्णबाट































प्रतिक्रिया