राफिन्हा नायक बन्दा एल क्लासिकोमा बार्सिलोनाको चमत्कारिक जित, हान्सी फ्लिकको नेतृत्वमा जित्यो लगातार दोस्रो सुपर कपको ट्रफी

राफिन्हा नायक बन्दा एल क्लासिकोमा बार्सिलोनाको चमत्कारिक जित, हान्सी फ्लिकको नेतृत्वमा जित्यो लगातार दोस्रो सुपर कपको ट्रफी

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । साउदी अरेबियाको जेद्दाहस्थित किंग अब्दुल्लाह स्पोट्र्स सिटीमा भएको एल क्लासिको फाइनलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–२ को रोमाञ्चक स्कोरमा पराजित गर्दै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

यो जितसँगै हान्सी फ्लिकको बार्सिलोनाले कीर्तिमानी १६औं सुपर कप हात पारेको छ, जसमा गत संस्करणमा पनि रियललाई नै हराएको थियो । सन् २०११ पछि पहिलो पटक बार्सिलोनाले हान्सी फ्लिकको नेतृत्वमा लगातार दुई सुपर कप जितेर नयाँ वर्षको सुरुमै उत्कृष्ट लयमा देखिएको छ, जबकि रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोमाथि दबाब बढेको छ ।

यो खेललाई फुटबल इतिहासकै एक उत्कृष्ट एल क्लासिकोका रूपमा लिइन सकिन्छ, जहाँ पहिलो हाफमै चार गोल भए र दोस्रो हाफमा निर्णायक गोलले खेलको फैसला गरेको थियो । बार्सिलोनाको जितमा ब्राजिलियन विङ्गर राफिन्हाको दुई गोल र पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको एक गोल निर्णायक साबित भएको थियो । रियलका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक–एक गोल फर्काए पनि उक्त गोल रियलका लागि पर्याप्त भएन । खेलको अन्तिम समयमा बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे योङले रातो कार्ड पाउँदा टिम १० खेलाडीमा सीमित भएको थियो, तर गोलकिपर जोआन गार्सियाको उत्कृष्ट बचावहरूले रियललाई बराबरी गोल फर्काउनबाट वञ्चित गरिरहे।

खेल सुरु भएदेखि नै दुवै टिमले आक्रामक शैली अपनाएका थिए । बार्सिलोनाले बल पोजेसनमा वर्चस्व कायम राख्दै रियलको डिफेन्सलाई दबाब दिई रह्यो । जसको फलस्वरुप ३६औं मिनेटमा फर्मिन लोपेजको उत्कृष्ट पासमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाए । यो गोलले खेललाई गति दियो, तर पहिलो हाफको इन्जुरी समयमा नाटकीय मोड आयो । इन्जुरी समयको दोस्रो मिनेटमै भिनिसियस जुनियरले एकल प्रयासमा बराबरी गोल गरे । त्यसको दुई मिनेटपछि लेवान्डोस्कीले बार्सिलोनालाई फेरि अग्रता बनाए, तर इन्जुरी समयको छैटौं मिनेटमा गोन्जालो गार्सियाले रियललाई २–२ को बराबरीमा ल्याए । पहिलो हाफमा भएका यी तीन इन्जुरी गोलहरूले दर्शकहरूलाई स्तब्ध बनाएको थियो ।


यस्तै दोस्रो हाफमा खेल थप तीव्र भएको थियो । रियलले बराबरी कायम राख्न प्रयास गरे पनि बार्सिलोनाको मिडफिल्डले नियन्त्रण कायम राख्यो । ७३औं मिनेटमा डानी ओल्मोको पासमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए । यो गोल रियलका डिफेन्डर राउल एसेन्सियोबाट डिफ्लेक्ट भएको थियो, जसले खेलको भाग्य निर्धारण गरेको थियो । खेलको अन्तिम मिनेटहरूमा रियलले दबाब बढाएता पनि गोलकिपर जोआन गार्सियाको उत्कृष्ट बचावहरूले बार्सिलोनालाई जित दिलाएरै छाड्यो । इन्जुरी समयमा डे योङले किलियन एम्बाप्पेमाथि फाउल गरेपछि सिधै रातो कार्ड पाए, जसले खेललाई थप रोमाञ्चक बनायो । तर, १० खेलाडीमा पनि बार्सिलोनाले रक्षात्मक रूपमा मजबुत प्रदर्शन गरेको थियो ।

बार्सिलोनाको जितमा राफिन्हा टूर्नामेन्टकै मोस्ट भ्यालुएबल प्लेयर साबित भए । उनको दुई गोल र आक्रामक प्रदर्शनले बार्सिलोनालाई अग्रता दिलायो । लेवान्डोस्कीको गोलले उनको अनुभव झल्कियो, फर्मिन लोपेज र डानी ओल्मोको असिस्टले बार्सिलोनाको मिडफिल्डको बलियोपन देखाएको थियो । गोलकिपर जोआन गार्सियाले खेलको अन्तिम समयमा गरेको बचावलाई ‘मास्टरक्लास’ भनिएको छ ।

रियल मड्रिडका लागि भिनिसियस जुनियरको एकल गोल उत्कृष्ट थियो, तर टिमको समग्र प्रदर्शन भने कमजोर देखिएको थियो । गोन्जालो गार्सियाको गोलले आशा जगाए पनि, रियलको डिफेन्समा प्रष्ट कमजोरी देखिएको थियो । प्रशिक्षक जाबी अलोन्सोको रणनीति प्रभावकारी नहुँदा रियलले सुवर्ण अवसरहरू गुमाएको थियो । एम्बाप्पे जस्ता स्टारहरूले पनि अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

अर्कोतर्फ यो जितसँगै बार्सिलोनाले स्पेनिस सुपर कपमा १६ उपाधि जितेर रियल मड्रिडलाई अझैँ पछि पारेको छ । सन् २०११ पछि पहिलो पटक बार्सिलोनाले लगातार दुई पटक यो उपाधि जितेको हो । हान्सी फ्लिकको प्रशिक्षणमा बार्सिलोना हाल उत्कृष्ट लयमा छ । ला लिगामा पनि चार अंकको अग्रतासहित उनीहरू शीर्ष स्थानमा छन् । यो उपाधिले फ्लिकको युगलाई मजबुत बनाएको छ, जसले बार्सिलोनालाई च्याम्पियन्स लिग र ला लिगामा पनि बलियो दाबेदार बनाएको छ ।

अर्कोतर्फ, रियल मड्रिडको लागि यो हारले सिजनको सुरुमै दबाब बढाएको छ । उनीहरूको हालको फर्म कमजोर छ र अलोन्सोको जागिर जोखिममा पर्न सक्छ । यो हारले रियललाई ला लिगामा बार्सिलोनासँगको प्रतिस्पर्धामा थप चुनौती थपेको छ।

Skip This
Skip This
Logo