काठमाडौँ
दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीको शपथ बुधबार (आज) दिउँसो ४ बजेका लागि तय गरिएको छ । राष्ट्रपति कार्यालयले त्यसको सम्पूर्ण तयारी पूरा गर्दै विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधि लगायतलाई शपथ ग्रहण समारोहमा सहभागिताका लागि आमन्त्रण गरिसकेको छ ।
राष्ट्रपतिको शपथ सर्वोच्च अदालतका प्रधानन्यायाधीशले गराउने संवैधानिक व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपाल पराजुलीको ‘वैधता’ को विषयमा सर्वोच्च आफैंमा विभाजित भएपछि नवनिर्वाचित राष्ट्रपतिलाई कसले शपथ खुवाउने भन्ने गम्भीर प्रश्न उठेको छ । प्रधानन्यायाधीश माथि अदालतमै प्रश्न उठेपछि प्रधानमन्त्री केपी ओलीले पराजुलीसँग मंगलबार बिहान बालुवाटारमा ‘ब्रेक फास्ट’ मिटिङ गर्दै पछिल्ला घटनाका सन्दर्भमा सरोकार व्यक्त गरे । पछिल्ला घटना निरुपण गर्ने उपायको खोजीमा पराजुली स्वयं पनि सोमबार साँझैबाट लागेका छन् ।
कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले सर्वोच्चमा घटेका पछिल्ला घटना दुःखद भएको भन्दै न्यायालयको गरिमा र साख जोगाउने विषयमा प्रधानन्यायाधीशसँग परामर्श गरेको एमाले नेता सुवास नेम्बाङले पुष्टि गरे । ‘अदालतमा देखिएका पछिल्ला घटनापछि स्वभाविक रूपमा कानुन मन्त्रालय समेत सम्हालि रहनु भएका प्रधानमन्त्रीले प्रधानन्यायाधीशसँग छलफल गर्नु भयो,’ नेता नेम्बाङले भने, ‘अदालतमा घटेका घटनाका विषयमा प्रधानमन्त्रीले चिन्ता र सरोकार व्यक्त गर्नु भयो ।’ स्रोतका अनुसार अब प्रधानन्यायाधीशका अगाडि तीन विकल्प देखा परेका छन् । पहिलो, उनले बिदामा बस्ने, दोस्रो संसदमा महाभियोग सामना गर्ने र तेस्रो आफैं अडानमा अडिएर राष्ट्रपति भण्डारीको शपथ खुवाउने ।
अन्नपूर्णबाट





























प्रतिक्रिया