धनगढी
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई गोली प्रहार गरेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ४ कार्यकर्तालाई पक्राउ गरेको छ । सोमबार राति ३ जना र मंगलबार १ गरेर अनुसन्धानका लागि ४ जना पक्राउ गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
घरमै सुतिरहेको अवस्थामा मंगलबार बिहान राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका १ जनाको नाम खुलेको छैन । अनुसन्धान भइरहेकाले प्रहरीले नाम खोलेको छैन । विप्लव समूहले भने मेयर चौधरी माथि भएको आक्रमणको औपचारिक रुपमा जिम्मा लिएको छैन् ।
विप्लव नेतृत्वको नेकपाको कैलाली शाखाले मंगलबार विज्ञप्ति मार्फत कार्यकर्ता पक्राउ परेकोमा ध्यानाकर्षण जनाउँदै विना शर्त रिहाई गर्नु पर्ने, घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्नु पर्ने लगायतका माग गरेको छ । औपचारिक रुपमा विप्लव माओवादीले नस्विकारे पनि मेयर चौधरी माथि विप्लव समूहबाट नै आक्रमण भएको प्रहरीको अनुमान छ ।
बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपिट भएको घटना मिलापत्र गरेर आरोपितलाई जोगाउन खोजेको आरोपमा मेयर चौधरीको आलोचना भइरहेका बेला सोमबार आक्रमण भएको हो । स्रोतका अनुसार विप्लवका कार्यकर्ताले मेयर चौधरीको हत्या गर्न नभई तर्साउनका लागि कम्मर मुनी पेस्तोलबाट गोली प्रहार गरेको बुझिएको छ । यसअघि विप्लव समूहले बिज्ञप्ती जारी गरी अनियमितता गरेको भन्दै मेयर चौधरीको राजीनामाको माग गरेका थिए । नगर प्रमुख चौधरीको दायाँतर्फको मिर्गौला नजिकै गोली लागेको भेटिएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा रहेका चौधरीको अप्रेशन गरेर गोली निकालिएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । मंगलबार विहान नेपालगञ्जबाट नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको थियो।
नागरिकबाट





























प्रतिक्रिया