काठमाडौं
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचनको तयारीलाई तीव्रता दिएको हो । फागुन २९ गते हुन लागेको राष्ट्रपति निर्वाचनको तयारीलाई तीव्रता दिइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले अब मुख्य निर्वाचन अधिकृत तोक्दै मतदान अधिकृत र मतगणना अधिकृत सहितका कर्मचारीहरूलाई प्रशिक्षण दिने तयारीमा रहेको बताइएको छ । आयोगका प्रवक्ता ढकालका अनुसार आयोगले फागुन २१ गते मतदाता नामावली सार्वजनिक गर्नेछ । त्यस्तै फागुन २४ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
राष्ट्रपति वा उपराष्ट्रपतिको पदमा उम्मेदवार बन्न कुनै पनि तहको सांसद बन्न आवश्यक हुन्न, निर्वाचन आयोगको मतदाता नामावलीमा नाम भए पुग्छ । तर प्रस्तावक र समर्थक ५⁄५ जना भने निर्वाचन मण्डलका सदस्य अर्थात सांसदहरूबाटै हुनु पर्ने व्यवस्था छ । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनको प्रावधान रहेको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्नेछ ।
आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदान केन्द्र काठमाडौंमा बनाउने भएको छ । संघीय संसद र प्रदेशसभा सदस्यका लागि छुट्टा–छुट्टै मतदान केन्द्रको व्यवस्था गर्ने आयोगले जनाएको छ । संविधान अनुसार संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुन बमोजिम फरक हुनेछ । संघीय संसद्प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसद्को प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ । संघीय संसदमा राष्ट्रिय सभाका ५९ र प्रतिनिधिसभाका २ सय ७५ गरी ३ सय ३४ सदस्य रहेको छ । प्रदेशसभामा ५ सय ५० सदस्य रहेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया