काठमाडौं
सरकारले आगामी वैशाख देखि काठमाडौं उपत्यका सहित देशभरका महानगरपालिका तथा उपमहानगरपालिकामा प्रदूषण जाँचपास नभएका सवारीसाधन प्रवेशमा रोक लगाउने भएको छ । सवारीसाधनले अत्यधिक प्रदूषण गरेको भन्दै यातायात व्यवस्था विभागले यस्तो निर्णय गरेको हो ।
विभागले सवारी प्रदूषण जाँचपासका लागि आवश्यक मेसिन खरिद प्रक्रिया पनि अघि बढाइसकेको छ । सरकारले गत मंसिरमा सवारीसाधनले गर्ने वायु प्रदूषण जाँच गर्न आवश्यक ४० वटा ‘भेइकल इमिसन टेस्ट’ गर्ने मेसिन खरिद गर्न विभागलाई निर्देशन दिएको थियो । काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा वायु प्रदूषण अत्याधिक भएकाले यसको नियन्त्रणका लागि विभागले उक्त निर्णय गरेको हो । निर्णय सँगै २०७५ वैशाख १ गते देखि काठमाडौं उपत्यका र देशभरका महानगरपालिका र उपमहानगरपालिकामा प्रदूषण जाँचपास नगराएका सवारी प्रवेशमा रोक लगाइने छ ।
यसअघि उपत्यकाको ७ वटा रुटमा चल्ने सार्वजनिक सवारीमा हरियो स्टीकर नभए त्यस्ता सवारीसाधनाई तत्काल कारबाही गरिँदै आइएको थियो । यद्यपि यो व्यवस्था प्रभावकारी हुन भने सकेको थिएन । मंसिर दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरोकारवाला सबैलाई बोलाएर प्रदूषण न्यूनीकरण गर्न आवश्यक कदम चाल्न निर्देशन दिएको थियो । उपत्यकाको वायु प्रदूषण नियन्त्रणको काम निकै फितलो भएकाले उक्त कार्यलाई प्रभावकारी बनाउने निर्णय समेत भएको थियो । उपत्यका तथा देशका मुख्य सहरमा वायु प्रदूषित हुनुमा सवारीसाधन मुख्य कारण भएकाले धेरै प्रदूषण गर्ने सवारीसाधनलाई नियन्त्रण गरिने उल्लेख छ ।
कारोबारबाट





























प्रतिक्रिया