काठमाडौं
संसद सचिवालयले संघीय संसद्को संरचना सम्बन्धी खाका तयार पारेको छ । संघीय संसदमा कस्तो संरचना चाहिने र त्यसमा कति कर्मचारीलाई कसरी खटाउने भनेर सचिवालयले अध्ययन गरेको थियो । संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले समितिले गरेको अध्ययन र त्यसबाट प्राप्त निष्कर्षलाई आधार मानेर प्रक्रिया अघि बढाइएको बताए । संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय संसद भनेको छ । दुवै सदनमा गरी ३ सय ३४ सांसद रहने व्यवस्था छ । सचिवालयले नै संसद बैठक चलाउने देखि, विधेयक प्रस्तुत गर्ने लगायतका अन्य जिम्मेवारी निर्वाह गर्नेछ ।
संघीय संसदमा ४ सय ३५ कर्मचारी रहने कर्मचारी प्रशासन शाखाका अधिकृत नेत्रप्रसाद भुसालले जनाए । यी मध्ये २ सय ७७ कर्मचारी मात्र कार्यरत छन् । लोकसेवा आयोगले नै कर्मचारी पदपूर्ति गर्ने गरेको छ । केही करारमा कर्मचारी पनि राखिएको सचिवालयले जनाएको छ । संसदमा यसअघि ३ सय ३४ कर्मचारी दरबन्दी थियो । सचिवालयले सिंहदरबार भित्र रहेका भवनमा पनि संघीय सचिवालय लेखिसकेको छ भने लेटरप्याड पनि प्रयोगमा ल्याइसकेको छ ।
संघीय संसद्को पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बस्दैछ । संघीय संसदमा एक महासचिव, प्रतिनिधिसभा र राष्ट्रियसभाका एक⁄एक जना सचिव, प्रशासनिक सचिवालय सचिव, संसदीय अध्ययन तथा अनुसन्धानका सचिवालय सचिव रहने छन् । दुवै सदनमा कार्य व्यवस्था महाशाखा, विधि व्यवस्थापन महाशाखा रहने छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा नै कार्य व्यवस्था शाखा, उपस्थिति तथा वितरण एकाइ, सम्पूर्ण विवरण शाखा, प्रश्न व्यवस्थापन शाखा र अनुवाद एकाइ रहेका छन् ।
प्रतिनिधिसभामा एउटा समिति समन्वय सचिवालय संसदीय सुनुवाइ विशेष समिति सचिवालय, महाअभियोग सिफारिस समिति सचिवालय, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयन अनुगमन र मूल्यांकन समिति सचिवालय, विशेषाधिकार समिति लगायत सभाका निर्णय अनुसार गठन हुने अन्य संसदीय समितिहरू रहेका छन् । प्रतिनिधिसभामा समिति समन्वय सचिवालय र राष्ट्रियसभामा विषयगत समिति सचिवालय रहेका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया