काठमाडौं । निर्वाचन आउन केही दिन बाँकी रहँदा चुनावी सरगर्मी बढ्दै गइरहेको छ । जेनजी आन्दोलनले निम्याएको यसपालिको निर्वाचनमा अघिल्ला निर्वाचन भन्दा विल्कुल फरक तरिकाले हुँदै छ । आन्दोलनपछी देश चुनावमा होमिदा निर्वाचन आयोगमा नयाँ दलहरु धेरैनै दर्ता भएर चुनावमा होमिएका छन् । पुराना दलहरु प्रति नेपाली जनताहरुले आक्रोश व्यक्त समेत गरेका छन् । सोही कारण नयाँ दलहरु चुनाव जित्ने दाउमा पुराना दलहरु सँग रस्साकस्सी गरिरहेका छन् । यद्यपी पुराना दलहरु आफ्नो शक्ति विस्तारमा उत्तिकै लागिपरेका छन् । जेन जी आन्दोलन पछि नेपाली राजनीतिमा ठूलै परिवर्तन भएको छ ।केहि दलहरु र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरु विभाजनको शिकार बन्न पुगे भने केही एकताको बन्धनमा बाँधिएर चुनाव हत्याउने र सत्ताभोग गर्ने रणनीतिको बाटोमा अग्रसर देखिन्छन् ।
पुराना प्रमुख राजनीतिक दलहरू एमाले, कांग्रेस लगायत अन्य नयाँ दलहरु यतिवेला मतदातालाई कसरी प्रभाव पार्न सकिन्छ भन्दै गाउँघरमा घरदैलो कार्यक्रममा सक्रिय,र चुनावी अभियानको दौडधुपमा छन्। यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ यतिबेला चुनावी इपीसेन्टरका रुपमा चर्चाको शिखरमा रहेको देखिन्छ ।
यहाँ मुख्यतः झाँपा ५ को प्रसंगलाई विशेष रुपमा हेर्दा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह र अखिल क्रान्तिकारीबाट उदाएका नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि झापा ५ ले सबैको ध्यान केन्द्रित गरेको छ ।
केन्द्रविन्दुले झापा जिल्लाको गौरीगन्ज गाउँपालिका, कमल गाउँपालिका र गौरादह लगायतका विभिन्न स्थानमा त्यहाँका स्थानिय मतदाता र जनतासँग कुराकनी गरेको छ । यस रिर्पोटिङका क्रममा त्यहाँका केही मतदाता कसलाई मतदान गर्ने भन्नेमा अन्योल देखिएका छन् ।
केही स्थानीय बासिन्दाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भरोसा व्यक्त गरेका छन् भने केही बालेन,केही रञ्जित र फरक मत राख्नेले अरु उम्मेदवारलाई भरोसा गरेका छन्।
पटक पटक चुनाव जितेर प्रधानमन्त्री भैसकेका ओलीलाई केही स्थानियहरूले विकासवादी नेताका रूपमा चिन्ने बताउँदा केहीले ओलीका कारण देशले चाहेजस्तो विकासमा फड्को मार्न नसकेको बताउँछन् । यस्तै केहिले जेन जी आन्दोलन हुनुका पछाडि ओलीको हात रहेको ठहर गर्दछन्।
ओलीका समर्थकहरुका अनुसार झापा–५ मा सडक, शिक्षा, स्वास्थ्य, विद्युत् तथा यातायातजस्ता आधारभूत पूर्वाधारको विकासमा केपी शर्मा ओलीको महत्वपूर्ण योगदान रहेको छ ।
एक कार्यक्रममा बोल्दै स्थानीय बासिन्दा रीता देवी गिरीले केपी शर्मा ओलीले झापालाई “एक युगबाट अर्को युगमा पु¥याएको” बताइन् । उनले यातायात सुविधामा आएको परिवर्तन उदाहरण दिँदै भनिन्, “पहिला विराटनगर जान पाँच सय रुपैयाँसम्म खर्चिनुपथ्र्यो, अहिले ५० रुपैयाँमै जान सकिन्छ ।” उनले सेवा सुविधा विस्तारमा ओलीको भूमिका स्मरण गर्दै अनुभवी र आफ्नै क्षेत्र बुझ्ने नेताको आवश्यकता औँल्याइन् ।
त्यस्तै, अर्का स्थानीय सुधिर कुमार शाह केपी शर्मा ओलीको जितप्रति ढुक्क देखिन्छन । उनले भने, “आँधीहुरी जस्तो कुरा क्षणिक हुन्छ, तर स्थायी काम गर्ने नेताको मूल्य समयसँगै देखिन्छ ।” उनका अनुसार झाँपामा ओलीले तीन कार्यकालमा धेरै महत्वपूर्ण काम गरेका छन्, यद्यपि कहिलेकाहीँ कमजोरी हुनसक्ने उनले स्वीकार गरे ।
मतदाता आनन्दी ठाकुर पनि केपी शर्मा ओलीप्रति आफ्नो विश्वास अटुट रहेको बताउँछिन् । “भोट हाल्न सुरु गरेदेखि नै मैले सूर्य चिन्हमै मतदान गर्दै आएकी छु,” उनले भनिन् । युवापुस्ताको आगमन सकारात्मक भए पनि अनुभवी र सिकिसकेको नेतृत्वलाई निरन्तरता दिने उनको धारणा छ ।
केपी शर्मा ओली स्वयंले पनि जनतासँग संवाद गर्दै शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन ्। उनले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै, “छोराछोरीलाई पढायौँ भने गरिबी आफैं हटेर जान्छ,” भन्ने धारणा व्यक्त गरे । सामान्य तर निरन्तर प्रयासबाट देश विकासको बलियो जग बसाल्न सकिने उनले बताए ।
ओलीले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गर्दै, “हामी आफैं राम्रो संगत गरौँ, आफैं राम्रो काम गरौँ,” भन्दै जनतालाई सचेत गराएका छन् ।
यस्तै रास्वपा निकट मतदाताहरु बालेन शाहले भारी मतले विजयी हुने दाबी गर्दा नेपाली कम्युनिस्ट पार्टी निकट मतदाता भने ओली सँग झापाली जनता वाक्कदिक्क भैसकेको र झापाकै युवा उम्मेदवार रञ्जित तामाङको जित सुनिश्चित भएको बताउँछन् । तामाङले स्वयं भनेका छन् “आफ्नै भोटको अपमान सहेका मतदाता संग मैले,बाचा गर्दछु कि तपाईले दिएको मत यसपटक आजसम्मकै सहि साबित गर्नेछु,ईतिहासको निर्माता जनता हुन्, जनताको घर आँगन पुग्दैछु,हारजित निर्वाचन परिणामले देखाउनेछ।”
गौरादह वडा नम्वर ८ का स्याम ढकालका अनुसार ओली पटक पटक निर्वाचित भएर सत्तामा पुगेपनि झापाली जनताले सोचेजस्तो र नेपाली जनताले चाहेजस्तो परिवर्तन गर्न नसकेको भन्दै नयाँ भिजन सहित चुनावी मैदानमा उत्रिएको रञ्जितको पक्षमा मतदाता रहेको बताउँछन् ।
यस्तै तामाङका अर्का एक समर्थकले ओली सरकारमा हुँदा परिवर्तन भन्दापनि देशमा ठूलाठूला भ्रष्टाचारका काण्डहरु निम्ताएको उनको आरोप लगाउछन् ।
कमल गाउँपालिकाका १ का स्थानिय परशु सुवेदीले टुरिस्ट नेता भन्दापनि झाँपा ५कै माटोमा जन्मिएको नयाँ,युवा जोश,जाँगर र उत्साह भएको परिवर्तनकारी पार्टीको टेस्ट हुन बाँकी उम्मेदवार तामाङलाई झापाली जनताले राम्रोसँग चिनिसकेको भन्दै जित सुनिश्चित भैसकेको दाबी गर्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भने यसपाली झाँपाली जनताले आँफूलाई जिताउने दाबी गर्दै झाँपामा जनताको पूर्ण समर्थन रहेको बताउँछन्। वालेन झापा जाँदा पनि त्यहाँका स्थानियको बालेनप्रतिको क्रेज र स्वतन्त्र पार्टीलाई समर्थन गर्नेहरुको जनलहरले बालेन घोषित हुन बाँकी विजेता भैसकेको रास्वपा झापाले बताउँछ । काडमाण्डौमा मेयर बनेर धेरै विकासका कामहरु गरिसकेको जनताले देखेको र यसपालि झापा लगायत देशलाई नै परिवर्तन गर्छु भनेर चुनावी दौडाहामा रहेका शाहलाई झापा ५ का मतदाताको पूर्ण समर्थन रहेको रास्वपा निकट मतदाताहरुको भनाई छ ।
यसरी हेर्दा झापा–५ मा अहिलेको चुनाव निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।































प्रतिक्रिया