चौतारा
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको दिनमा पनि ६ देखि ८ मिटर मात्र सुरुङ खनिएकाले काममा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए ।
आगामी चैतको दोस्रो साता सम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङसनमा ५० मिटर सहित २७३ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी पन्तले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका स्थित मुहान रहेको अम्बाथान देखि सुन्दरीजल सम्मको २७.५ किमी सुरुङ मध्ये हाल सम्म २७.२२७ किमी सुरुङ सम्पन्न भइसकेको छ । सो खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजल सम्मको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको र अम्बाथान देखि ग्यालथुम खण्डको ७.५ किमी सुरुङ गएको पुस १४ गते सम्पन्न भएको थियो ।
ठेकेदार कम्पनीले इन्धन, सिमेन्ट लगायतका निर्माण सामग्रीको अभाव तथा रकमको अभाव भएको जस्ता समस्या देखाएर काममा ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ । सन् २००९ मा चिनियाँ कम्पनी १५ रेलबे ब्यूरोसँग भएको सम्झौता अनुसार सन्तोषजनक काम नभएको भन्दै चार वर्ष पछि ठेक्का रद्द गरिएको थियो । त्यसपछि सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग सात अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको र पटकपटक म्याद थप गरी अन्तिम अवधि आगामी मार्च सम्म कायम रहेको छ ।
रासस































प्रतिक्रिया