काठमाडौं
नेकपा (माओवादी केन्द्र) ले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष तीन नेतालाई दिएको छ । खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष ‘प्रचण्ड’ सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई सो जिम्मा दिने निर्णय गरेको हो । कुन–कुन मन्त्रालय लिएर कुन–कुन नेतालाई पठाउने भन्ने विषयमा अध्यक्ष सहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिए ।
बैठकमा फागुन ७ गते नेकपा (एमाले) सँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमा समेत छलफल भएको थियो । त्यसैगरी बैठकले पार्टीका तीन नेता गोपाल किराँती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको छ ।
रासस





























प्रतिक्रिया