रोल्पा
बिहान ८ बजेपछि रिम्सकी भूमिसरा घर्तीलाई स्कुल हिँड्ने हतारो हुन्छ । घरमा पढ्ने कुरा त परै जाओस्, कहिलेकाहीँ त भात खान पनि भ्याउँदिनन् उनी । बिहान उठ्यो, आमाबुवालाई घरको काममा सघायो, स्कुल जान हतार भइहाल्छ । उनी भन्छिन्, ‘छिटोछिटो खाना खाएर बाटोमा हिँड्दै कपाल कोर्दै गर्नुपर्छ नत्र १० बजे स्कुल पुग्न भ्याइँदैन।’ विद्यालय टाढा हुँदा यहाँका विद्यार्थीले फुर्सदले खाना खान र विद्यालय पोसाक लगाउन समेत भ्याउँदैनन् । घरबाट विद्यालय पुग्न डेढ घन्टा लाग्छ । विद्यार्थीलाई लामो उकाली–ओराली बाटो पार गर्दै रहेको विद्यालयमा प्रवेश गर्नु पर्ने बाध्यता छ । सहरमा जस्तै नजिक विद्यालय तथा स्कुल बस सुविधा नहुँदा लामो पैदलयात्राले कक्षाकोठा पुग्दा सम्म विद्यार्थीहरू थाक्ने गर्छन् । उनीहरू साँझबिहानको घरधन्दा र हतारको विद्यालय तयारीले दिक्क छन् ।
नेपाल मावि कोटगाउँमा अध्ययनरत विद्यालयबाट टाढा घर भएका भूमिसराजस्तै रोल्पामा धेरै विद्यार्थी छन् जसलाई विद्यालय पुगेर घर फर्किन दैनिक करिब ३ देखि ४ घण्टा पैदल हिँड्नुपर्छ । घाँटीमा टाईको गाँठो मिलाउँदै हिँडेकी छात्रा मारिया घर्ती पनि दैनिक हिँडाइले आजित छिन् । घर भन्दा टाढा विद्यालय भएका कारण अभिभावक पनि चिन्तित रहने गर्छन् । ‘डेरा गराउन खर्चले धान्न सकिँदैन । नगराउनु केटाकेटीको हत्ते छ । भोक र थकाइले साँझ गलेर घर आउँछन् । नपढाएर पनि भएन,’ एक अभिभावकले दुखेसो पोखे, ‘नेताले बाटो मात्र भन्छन् । हाम्रा छोराछोरीले पढ्न पाए पो हुन्थ्यो । बिचरा साना केटाकेटी स्कुल जादा सधैं हिँड्नु पर्ने त्यो बाटोको के काम ।’
४ सय ४० शैक्षिक संस्था रहेको जिल्लामा निजी र सरकारी गरी ६२ वटा माध्यमिक विद्यालय छन् । ती विद्यालयका ८६ हजार ५ सय २३ विद्यार्थी मध्ये धेरै बालबालिका दैनिक लामो पैदल विद्यालय पुग्ने गर्छन् ।
नागरिकबाट































प्रतिक्रिया