काठमाडौं
समसामयिक राजनीतिक विषय माथि छलफल गर्दै नेकपा (माआवादी केन्द्र) को कार्यालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा अपरान्ह चार बजे देखि चलेको बैठकमा नेकपा एमालेसँगको पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रवक्ता भुसालका अनुसार बैठकमा सहभागी कार्यालय सदस्यहरुले पार्टी एकताका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सात बुँदे समझदारीका बारेमा जिज्ञासा राखेका थिए । पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित दुबै कार्यदलको आजको बैठकको प्रगतिका बारेमा समेत छलफल भएको थियो ।
बैठकले पार्टी एकताको प्रक्रियाको स्वागत गरेको भुसालले बताइन् । यसैगरी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सहभागी हुने मन्त्रीहरुका बारेमा समेत छलफल भएको छ । ‘मन्त्री छनोट गर्दा समावेशी, समानुपातिक आधारमा नयाँ र पुराना, अनुभवी लगायत सबै पक्षलाई विचार गरेर पठाउने भन्ने विषयमा छलफल भयो । तर आजको बैठकमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन’, प्रवक्ता भुसालले भनिन् ।































प्रतिक्रिया