सुर्खेत
प्रदेशसभाका सदस्यले संसद बैठक समेत ख्याल नगरी वीरेन्द्रनगरबाट बाहिरिए पछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको प्रदेश ६ को संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । ‘प्रदेशको नामकरण र राजधानी तोक्ने’ महत्वपूर्ण कार्यसूची रहेको प्रदेश ६ को प्रदेशसभाको चौथो बैठक बस्न सकेन । बहुसंख्यक सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक शनिबार सम्मका लागि सूचना टाँसेर स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाका अधिकांश सांसद संघीय राजधानी काठमाडौं तिर लागेका छन् । केही सांसदहरू सुर्खेत बाहिर गएका छन् । सबै सांसद उपस्थित हुन नसक्ने भएपछि बुधबारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार बुधबारको बैठकमा प्रदेशको नामकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो । तर अधिकांश सांसद जिल्ला बाहिर गएको र गहन विषयमा निर्णय गर्नु पर्ने भएकाले बुधबारको बैठक स्थगन गरिएको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार अब प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले भने, हामीले शनिबार सबै माननीयलाई उपस्थित गराउने गरी बैठकको सूचना टाँस गरेका छौं ।’ प्रमुख प्रतिपक्षी दलका नेतासहित अधिकांश सांसद अहिले वीरेन्द्रनगरमा छैनन् ।
प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले आफू उपचारका लागि काठमाडौंमा रहेको जानकारी दिए । उनले भने, ‘ऐतिहासिक विषयमा छलफल हुँदैछ, संख्या भन्दा पनि सबैको सहमतिमा निर्णय गर्दा राम्रो हुन्छ । सबै माननीय सहभागी भएर निर्णय लिँदा दीर्घकालीन हुन्छ, त्यसैका लागि बुधबारको संसद बैठक शनिबार सम्म सरेको हो ।’ उनले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत नै हुने दाबी गरे । यसमा दलहरु बीच आन्तरिक सहमति र एकमत रहेको भन्दै उनले शनिबार औपचारिक निर्णय हुने बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया