सिरहा
धनगढीमाई नगरपालिका १२ का पचुवा मरिकले तीन महिना अघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने । लाहान नगरपालिका २२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका ४ को गाउँ एक वर्ष अघि ६० हजार रुपैयाँमा किनेका थिए । लाहान नगरपालिका २२ का महेन्द्र मरिक भन्छन्, ‘२० वर्ष अघि ६ हजारमा किनबेच भएको गाउँको अहिले भाउ बढेको छ ।’ सिंगो वडा नै किन्ने दिलीप मरिककी हजुरआमाको नाममा बेलीगाउँ पनि छ । हिजोआज बेलीगाउँ दुई दाजुभाइले संयुक्त रूपमा चलाइरहेका छन् । परिवारको सदस्य वृद्धि भएकाले थप गाउँ किन्नु परेको उनी बताउँछन् ।
मरिकले भने, ‘कमाइ गरिखाने गाउँ थोरै भएकाले त्यसबाट हुने कमाइबाट गुजारा चल्न धौ धौ परेपछि नयाँ गाउँ किनेको हुँ । आफ्नो गाउँ नहुँदा आफैंले बनाएको बाँसका सामग्री अरूलाई कम मूल्यमा दिनु पर्थ्यो ।’ डोम समुदायले बाँसका सामग्री बनाउने र आफूले किनेको गाउँमा बेच्ने गर्छन् । घरजग्गा बिक्री त देशभर जहाँ पनि हुन्छ तर सुन्दै अचम्म लाग्छ, सिरहा जिल्लामा भने यहाँका अल्पसंख्यक मधेसी दलित (डोम जाति) ले गाउँ नै खरिद बिक्री गर्छन् । सिंगो बस्ती कुनै न कुनै डोम समुदायका मानिसले किनेकै हुन्छ । मधेसको सबै गाउँ बिक्री भएको छ । डोम समुदायमा गाउँका गाउँ बेच्ने, किन्ने र आफ्नो गर्जो टार्न बन्धकीसमेत राख्ने अनौठो चलन छ । पूर्वको झापा देखि पश्चिमको पर्सा सम्म करिब १३ हजार संख्यामा छरिएर बसेका डोम समुदायमा आफ्नो इलाका छाडेर अरूकोमा गई बाँसको सामग्री बिक्री गर्न र काम गर्न प्रतिबन्ध छ।
अरूको इलाकामा गएर काम गर्न र बाँसको सामग्री बनाई बिक्री गर्न गाउँ, सहर किन्नु पर्छ नभए बन्धकी लिनु पर्छ । कोही लुकेर अर्काले किनेको गाउँमा बेच्न गएमा जातीय नियम अनुसार दण्ड व्यहोर्नु पर्छ । यो समुदायमा भाइभाइ बीच अंश लगाउँदा पनि गाउँटोल नै लगाउने चलन छ । अंशमा एउटा मात्रै गाउँ भागमा परेपछि काम गर्ने एरिया सानो हुँदा सिसवनीका भोला मरिकले बन्धकीमा लिएका छन् । भोला भन्छन्, ‘३५ हजारमा हरि मरिकसँग बाखैरगाउँ बन्धकीमा लिएको छु ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया