सुर्खेत
नेकपा एमालेले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्नु पर्ने प्रस्ताव अघि सारेको छ । पार्टीको स्पष्ट बहुमत हुँदा हुँदै पनि प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था आएपछि एमालेले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरेको हो । मुख्यमन्त्री चयन अघि नै एमालेले समयावधि तोक्न माग गरेपछि प्रदेश सरकार गठन केही पर धकेलिने देखिएको छ । एमालेले मुख्यमन्त्री चयन अघि नै सरकारको समयावधि, मन्त्रीमण्डल र मन्त्रालयको भागबण्डा तथा सरकारमा सहभागी हुनेहरुको बरियताका बारेमा माओवादी केन्द्रले स्पष्ट धारणा राख्नु पर्ने प्रस्ताव गरेको छ । ‘प्रदेशसभाका ४० मध्ये २० जना सांसद हामी छौं, पूरै अवधि नेतृत्व विहिन भएर बस्नु जनताको मतको अपमान हो’ एमालेका एक सांसदले भने, ‘केन्द्रमा भएको सहमतिलाई सम्मान गर्दै आलोपालो सरकारको नेतृत्व गर्नु पर्ने प्रस्ताव हामीले गरेका हौं।’
एमालेले आलोपालो सरकारको नेतृत्वको प्रस्तावको जवाफ नआए सम्म मुख्यमन्त्री चयन र सरकार गठन प्रक्रियालाई अगाडि नबढाउने बताएको छ । ‘मुख्यमन्त्री चयन अघि नै माओवादी केन्द्रलाई हामीले राखेका प्रस्तावको स्पष्ट जवाफ दिन आग्रह गरेका छौं’ एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘यी विषयको टुङ्गो लागेपछि मात्रै मुख्यमन्त्री चयन र सरकार गठनको प्रक्रियामा अगाडि बढ्छौं।’
वाम गठवन्धनबीच केन्द्रमा भएको सहमति अनुसार ६ र ७ नम्वर प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको थियो । मुख्यमन्त्री चयन अघि नै एमालेबाट आएको आलोपालो प्रस्तावलाई माओवादी केन्द्रले ‘गम्भीर रुपमा’ लिएको बताएको छ । ‘केन्द्रमा दुई पार्टी बीच भएको सहमति अनुसार यो प्रदेशको नेतृत्वको जिम्मेवारी हामीले पाएका छौं’ माओवादी केन्द्रका नेता धर्मराज रेग्मीले भने, ‘केन्द्रमा दुई पार्टीबीच भएको सहमति विपरित आलोपालोको प्रस्ताव आउनुले हामीलाई गम्भीर बनाएको छ।’
नागरिकबाट































प्रतिक्रिया