जनकपुरधाम
भाषा, संस्कृति र भौगोलिक संरचना अनुसार प्रदेश २ खाँटी मधेस हो । आफ्नै भाषा, संस्कृति र भौगोलिक पहिचान स्थापनाका क्रममा मधेसमा दशक लामो आन्दोलन भयो । मुलुक संघीयतामा गएपछि राज्य विरुद्धको आन्दोलन त विसर्जन भयो तर प्रदेशभित्रै नयाँ आन्दोलनको बिरुवा उम्रिँदैछ । त्यो हो भाषा विवाद । मिथिला प्रदेशको माग उचालेर सामाजिक आन्दोलन सुरु गर्ने पक्ष र पहिचानवादी दलहरु बीच भाषा विवाद बढ्दैछ । अन्तरिम संविधान ०६३ मा संघीयता शब्द उल्लेख गराउन मधेस आन्दोलन सुरु भएको थियो । सँगसँगै सक्रिय भएको मिथिला आन्दोलन यतिबेला तिनै संघीयताको जन्म दिने दलहरुसँग टक्कर लिन थालेपछि मधेसकै समाज विभाजित हुन थालेको छ ।
गत आइतबार प्रदेशसभाको पहिलो बैठकमा पहिचानवादी दलका प्रतिनिधिले हिन्दी भाषामा सम्बोधन गरे । लगत्तै त्यसको विरोधमा स्थानीय युवाले जनकपुरमा आगो बाले । हिन्दी बोल्ने नेताहरुको पुतला जलाए । मधेस केन्द्रित दलहरुले उनीहरुको विरोधलाई पराजित मानसिकताको संज्ञा दिए भने मैथिली अभियन्ताहरुले मिथिला आन्दोलनको सफलता भन्दै खुसी मनाए। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले हिन्दीको विरोध गर्नुको तुक नभएको बताए । ‘समग्र मधेसको सम्पर्क भाषा हिन्दी मात्र हुन सक्छ । हिन्दी भाषा प्रयोग गरेकै कारण विरोध गर्नुको कुनै तुक र सन्दर्भ मैले देखेको छैन,’ यादवले भने । उनका अनुसार प्रदेश २ का मैथिली, बज्जिका, अवधी र भोजपुरी भाषीलाई जोड्ने हिन्दी नै हो।
मिथिला राज्य संघर्ष समितिका संयोजक समेत रहेका मिथिला आन्दोलनका अगुवा परमेश्वर कापरीले भने मैथिली भाषाको विकल्पमा हिन्दी अघि सार्नु गलत भएको बताए । ‘नेपालकै सबैभन्दा पुरानो र समृद्ध भाषा मैथिली हो । त्यसैले मैथिली भाषाको विकल्प खोज्नु पहिचान विरोधी कुरो हो,’ उनले भने । कापरीले पहिचानवादी आन्दोलनको अगुवाइ गर्ने पक्षबाटै मैथिली भाषा कमजोर बनाउन खोजिएको भन्दै आपत्ति जनाए। पछिल्ला दिनमा यहाँ भाषको विवाद कायमै छ ।
नागरिकबाट





























प्रतिक्रिया