काठमाडौं
एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाएका दुई महिलाको नाम काटिएको छ । एमालेले महिलाको नाम काटेर दुई पुरुषको नाम निर्वाचन आयोगमा पठाएको हो । खर्स आर्य कोटाकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी मगरको नाम काटिएको छ । कार्की र मगरको सट्टामा आदिवासी जनजातिको एक नम्बर सूचीमा रहेका विजय सुब्बा र मधेसी कोटाको एक नम्बरमा रहेका मोतीलाल दुगडको नाम समेटिएको छ । दुगड व्यवसायी हुन् ।
यस अघि एमालेले दुई जना पुरुष र ३९ महिलाको नाम निर्वाचन आयोगमा पठाइसकेको थियो । राष्ट्रिय सभाको निर्वाचनपछि चार पुरुषलाई समानुपातिकबाट सांसद बनाउन सक्ने अवस्था आएपछि एमाले दुई महिलाको नाम काटेर पुरुषको नाम राखेको हो । समानुपातिकतर्फ एमालेले ४१ सिट पाउने अवस्था छ । यसअघि प्रतिनिधि सभाको समानुपातिक तर्फ खसआर्यको एक नम्बरको सूचीमा रहेका मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँ सहित ३९ महिलाको नाम एमालेले पठाएको थियो ।
एमालेले प्रत्यक्षतर्फ ८० र राष्ट्रिय सभामा २७ सिट जितेको छ । समानुपातिकमा ४१ सिट पाएपछि एमालेको संघीय संसदमा १४८ सिट हुन्छ । राष्ट्रिय सभामा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्ने संवैधानिक व्यवस्था छ । एमालेले ५० जना महिला संसदमा पठाउनु पर्छ । जस मध्ये प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एमालेका दुई जना मात्रै महिला विजयी भएका छन् भने राष्ट्रिय सभामा ११ माहिला आएका छन् । प्रत्यक्ष र राष्ट्रिय सभा गरी १३ महिला संसद बनेका छन् । ३७ महिलालाई एमालेले समानुपातिकबाट पठाएपछि एक तिहाई पुग्छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया