काठमाडौँ
प्रदेश २ मा सरकार गठन गर्न संघीय समाजवादी फोरम र राजपा बीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ । प्रदेश सरकार गठन सहित शक्ति बाँडफाँटबारे दुई चरणको औपचारिक वार्ता निष्कर्ष विहीन भएको हो । पहिलो चरणको वार्तामा दुवै दलले जनादेशका आधारमा मिलेर सरकार गठन गर्ने सैद्धान्तिक सहमति गरेका थिए । तर राजपाले मुख्यमन्त्री आलोपालो गरेर सरकार सञ्चालन गर्ने प्रस्ताव गरेको छ । दोस्रो वार्तामा पनि सत्ता साझेदारीबारे सहमति हुन सकेन ।
स्रोतका अनुसार पहिलो चरणको वार्तामा राजपा नेता राजेन्द्र महतोले मुख्यमन्त्री आलोपालो हुनु पर्ने प्रस्ताव राखेका थिए । उनको भनार्इ थियो, ‘मन्त्रालयहरू के कति लिनुपर्छ फोरमले लिए हुन्छ, बाँकी हामी लिउँला । तर मुख्यमन्त्री आलोपालो हुनुपर्छ ।’ यता फोरम अध्यक्ष उपेन्द्र यादवले महतोको प्रस्ताव मान्न नसकिने जवाफ दिएका थिए । ‘मुख्यमन्त्रीमा आलोपालो हुन सक्दैन । मन्त्रालयमा आधाआधा भागबन्डा गरेर जान सकिन्छ,’ यादवको भनार्इ उल्लेख गर्दै एक नेताले भने। तर अध्यक्षमण्डलका सदस्य महतोले फोरम र राजपाबीच मिलेर सरकार गठन गर्ने सहमति भएको जानकारी दिए । अर्का नेता अनिल झाले पनि मिलेर सरकार गठन गर्ने र अर्को वार्तामा भागबन्डालाई अन्तिम रूप दिइने बताए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया