काठमाडौं
माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘जनयुद्ध दिवस’ का अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको छ । पार्टी एकीकरण प्रक्रियामा अघि बढिरहेका बेला माओवादी मुख्यालय पेरिसडाँडामा फागुन १ मा मनाइने ‘जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा गरिएको हो ।
उक्त दिन पेरिसडाँडामा चियापान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले बताए । ‘एमाले अध्यक्ष ओलीज्यूलाई जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा निम्तो गरेका छौं, ,’ सापकोटाले भने, ‘उहाँ आउनुभयो भने अध्यक्ष प्रचण्ड र ओलीज्यूले सामूहिक रुपमा सम्बोधन गर्नु हुनेछ ।’ उनका अनुसार ओलीको निजी सचिवालयले वाइसिएलको प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ।
माओवादीका तर्फबाट २२ औं ‘जनयुद्ध दिवस’ का अवसरमा वाइसिएलले राखेको उक्त कार्यक्रम पार्टीको केन्द्रीयस्तरको कार्यक्रम समेत हो । पार्टी एकीकरण प्रक्रिया चलिरहेका अवस्थामा पेरिसडाँडामा ओलीको उपस्थितिलाई महत्त्वका साथ हेरिने वाइसिएलले जनाएको छ । माओवादीका विभिन्न घटकले ‘जनयुद्ध दिवस’ मनाए पनि अन्य पार्टीका अध्यक्षलाई बोलाएर सो कार्यक्रम मनाउन लागेको यो पहिलोपटक हो।
नागरिकबाट





























प्रतिक्रिया