सुर्खेत
प्रदेशको अस्थायी राजधानी तोक्दा धेरै ठाउँमा विवाद उत्पन्न भयो । वीरगन्ज र दिपायलमा कैयौँ दिन आन्दोलन नै चल्यो, तर प्रदेश ६ भने अपवाद रह्यो । अब प्रदेशको नाम र राजधानीका विषयमा पनि दलहरू बीच सहमति देखिएको छ । दलका नेताहरू भन्छन्, ‘प्रदेशको नाम ‘कर्णाली’ र राजधानी ‘वीरेन्द्रनगर’ राख्ने तय भएको छ ।’
संविधानको धारा २९५ मा प्रदेश सभाका दुई तिहाइ सदस्यले प्रदेशको नामकरण गर्न सक्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार प्रदेश ६ को नामकरणमा दलहरू भित्र अनौपचारिक छलफल चलिरहेको छ । त्यसैले औपचारिक रूप भने लिइसकेको छैन । एमाले प्रदेश कमिटी सहसंयोजक यामलाल कँडेलले प्रदेशको नाम कर्णाली राखिने दाबी गरे । ‘प्रदेश ६ को नाम कर्णाली र सदरमुकाम वीरेन्द्रनगर हुन्छ,’ कँडेलले भने । यसमा माओवादी केन्द्रका नेता पनि सहमत छन् ।
माओवादीबाट प्रदेश सभा सदस्य धर्मराज रेग्मीले केही सदस्यको ‘खसान’ राख्नु पर्ने तर्क भए पनि ‘कर्णाली’ धेरैको भावना समेट्ने र सहमति जुट्न सक्ने नाम रहेको बताए । कांग्रेसका प्रदेश सभा सदस्यहरू पनि असहमत देखिएका छैनन् । सुर्खेतमा राजधानी भएपछि कर्णाली प्रदेशको नाम हुनु पर्ने स्वाभाविक तर्क रहेको कांग्रेसका प्रदेश सभा सदस्य जीवन बहादुर शाहीको भनार्इ छ । तर कर्णाली नाममा सल्यान र जाजरकोटका प्रदेश सभा सदस्य सहमत भइसकेका छैनन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया