काठमाडौं
भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपाल भित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो । ‘सफल भ्रमणको अन्त्य गर्दै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश (भारत) प्रस्थान गर्नु भएको छ,’ काठमाडौं स्थित भारतीय दूतावासले दुई दिने नेपाल भ्रमण सम्पन्न गरी शुक्रबार स्वराज स्वदेश फर्केपछि ट्विट गरेको छ ।
स्वराजको आकस्मिम नेपाल भ्रमणलाई नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘राजनीति र कूटनीतिको सामान्य अभ्यास अनुरुप अहिलेको भ्रमण भएको छैन’ भन्दै आलोचना गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पनि ‘अनुपयुक्त समयको भ्रमण’ बताएका छन् ।
नेपाल भित्र आलोचना भए पनि करिब २४ घन्टा नेपाल बसाइँमा स्वराजले विभिन्न पार्टीका डेढ दर्जन भन्दा बढी नेतासँग भेट गरिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग स्वदेश फर्किनु केही घन्टा अघि शिष्टाचार भेट गरेकी थिइन् । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा स्वराजले नयाँ संविधान अनुसार सफलतापूर्वक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्गमा अघि बढेकोमा बधाई तथा शुभकामना दिएकी थिइन् ।
नागरिकबाट





























प्रतिक्रिया