काठमाडौं
सरकारले संघीय शासन लागू भएपछि स्थापित संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई समेटेर नयाँ मर्यादाक्रम तोकेको छ । पुरानो मर्यादाक्रम खारेज गर्दै सोमबारको मन्त्रिपरिषद बैठकले संघीय शासन अनुरुप नयाँ मर्यादाक्रम निर्धारण गरेको हो । मर्यादाक्रममा राष्ट्रपति देखि गाउँपालिका उपाध्यक्ष सम्म समेटिएको छ । नयाँ शासकीय स्वरूपमा आएका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, महानगरपालिकाका प्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख, उपप्रमुख, तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहितको मर्यादाक्रम निर्धारण गरिएको हो । मर्यादाक्रमको सूची १ देखि ३४ नम्बर सम्म छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पुरानो मर्यादाक्रम खारेज गरी नयाँ मर्यादाक्रम लागू गरिएको जानकारी दिए । प्रवक्ता बस्नेतले संघ, प्रदेश र स्थानीय तह सहितको नयाँ शासन प्रणाली लागू भइसकेकाले परिवर्तित अवस्था अनुसार नयाँ मर्यादाक्रम निर्धारण गरिएको बताए । सरकारले लागू गरेको मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति छन् भने सबैभन्दा तल ३४ औं नम्बरमा नेपाली सेनाका सहायक सेनानी छन् । नयाँ मर्यादाक्रम दोस्रो नम्बरमा उपराष्ट्रपति र तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ ।
यस्तै मर्यादाक्रमको छैठौं नम्बरमा पूर्वराष्ट्रपति र उपप्रधानमन्त्रीलाई राखिएको छ । प्रदेशमा राष्ट्रपति सरहको भूमिकामा रहने प्रदेश प्रमुखलाई मर्यादाक्रममा सातौं स्थानमा राखिएको छ भने आठौं स्थानमा पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई राखिएको छ । यस्तै मर्यादाक्रममा प्रदेश सरकारका मुख्यमन्त्री र पूर्वप्रधानन्यायधीश, संसद्का पूर्वअध्यक्षलाई, उपप्रधानमन्त्री, उपसभामुख, र उपाध्यक्षलाई नवौं स्थानमा राखिएको छ । परिवर्तित मर्यादाक्रममा मुख्यसचिवलाई १४ औं नम्बरमा राखिएको छ । प्रधानसेनापति, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्टारलाई १४ नम्बरमै राखिएको भए पनि यी मध्ये सबैभन्दा अघि मुख्यसचिवलाई राखिएको छ । यसैगरी प्रदेश सभामुख र प्रादेशिक मन्त्रीलाई १५ औं स्थानमा राखिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया