स्वैरकल्पना, प्रेम र द्वन्द्वको शक्तिशाली कथा “आदिरा” सार्वजनिक

स्वैरकल्पना, प्रेम र द्वन्द्वको शक्तिशाली कथा “आदिरा” सार्वजनिक

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । लेखिका अनिता खरेलको पहिलो उपन्यास आदिरा शनिबार मण्डला थिएटर, थापागाउँमा एक विशेष कार्यक्रमबीच विमोचन गरिएको छ।

रेडपाण्डा बुक्सद्वारा प्रकाशित उक्त कृति कवि तथा उपन्यासकार विप्लव प्रतीक, फिल्म निर्देशक शान्ता नेपाली, जेन्जी अभियन्ता माजिद अन्सारी तथा लेखिका स्वयंले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै निर्देशक शान्ता नेपालीले उपन्यासले आफूलाई कल्पनाको संसारमा डुबाएको अनुभव सुनाइन्। उनले कथाको परिवेशलाई माडी, चितवनसँग तुलना गर्दै “आदिरा”ले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने बताइन्।

माजिद अन्सारीले कथाको प्लट अघि बढेसँगै आउने अप्रत्याशित ट्वीस्टहरूले पाठकलाई थप आकर्षित गर्ने उल्लेख गरे। पात्रहरूको अनुभूतिले आफूलाई गहिरो रूपमा छोएको बताउँदै उनी भावुक बने।

कवि विप्लव प्रतीकले उपन्यासमा स्वैरकल्पनाको अद्भुत संसार निर्माण गरिएको टिप्पणी गर्दै सोच र लेखनलाई एकसाथ प्रभावकारी रूपमा प्रस्तुत गर्नु चुनौतीपूर्ण कार्य भएको बताए। उनले Metamorphosis र One Hundred Years of Solitude जस्ता कृतिसँग तुलना गर्दै “आदिरा”को न्यारेटिभलाई सशक्त र रोचक ठहर गरे।

लेखिका खरेलका अनुसार “आदिरा” प्रेम, करुणा, त्याग र कर्तव्यपरायणताको कथा मात्र नभई मातृवात्सल्य, साहस, न्याय र समानताको सशक्त प्रस्तुति हो। साथै, मानवभित्रको सकारात्मक–नकारात्मक द्वन्द्व, अहंकार र छल–कपटको कथालाई पनि उपन्यासले उजागर गरेको उनले बताइन्। पहिलो कृतिमै खरेलले स्वैरकल्पनाको गहिरो संसार निर्माण गर्न सफल भएको भन्दै “आदिरा”ले नेपाली साहित्यमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।

Logo