काठमाडौं, २ माघ ।
मंगलबारका लागी बोलाइएको मन्त्रीपरिषद बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेससँगको आन्तरिक छलफलपछि आजको बैठक स्थागित गरेको उनका स्वकिय सचिव भानु देउवाले बताए ।
यसअघि प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद बैठक बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेका थिए । उक्त विषयमा दलहरुवीच सहमति भए सहमतिमै र नभएपनि राजपा, फोरम र कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गर्ने देउवाको तयारी रहेको उनि निकट स्रोतले बतायो ।
देउवा निकट स्रोतका अनुसार सहमति भए उनले एमाले–माओवादीकातर्फबाट २/२ जना तथा कांग्रेस, राजपा र संघीय समाजबादी फोरमबाट एकएक जना गरेर प्रदेश प्रमुख नियुक्त गर्नेछन् । तर यो सम्भावना टरिसकेको छ । अव बिकल्पमा राजपा–फोरमबाट एकएक जना र बाँकी ५ प्रदेशमा कांग्रेसका तर्फबाट नै नियुक्ति गर्ने तयारी देउवाको छ । यसका लागि प्रधानमन्त्री देउवाले आज बिहानैबाट सम्भावित नाममा सहमति जुटाउन कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतसँग छलफल गरेका छन् ।
कोइरालालाई कांग्रेस नेता बालकृष्ण खाडले सिफारिस गरेका हुन् । त्यस्तै राजपाबाट उमाकान्त झा र संघीय समाजवादी फोरमबाट रत्नेश्वर लाल कायस्थको नाम प्रधानमन्त्री देउवालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस भइसकेको बुझिएको छ । त्यस्तै कांग्रेसबाटै निलाम्बर आचार्य, महोन ब मल्ललगायतको नाम पनि सिफारिस भएको स्रोतले बतायो ।
एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार प्रधानमन्त्री देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएको छ ।
प्रधानमन्त्रीसँग दलीय छलफल भएपनि आफ्नो पार्टी प्रदेश प्रमुख नियुक्तिको प्रकृयामा सहभागि नहुने उनले बताए । प्रधानमन्त्रीले यसअघि नै सहमतिमा प्रदेश प्रमुख नियुक्त गर्ने भन्दै दलहरुसँग औपचारिक ÷अनौपचारिक कुराकानी गरेको बताउँदै आएका थिए । यस विषयमा यसअघिको सर्वदलीय बैठकमै बाम गठबन्धनले आफ्नो कुनै प्रतिकृया नरहने जनाएको थियो ।































प्रतिक्रिया