काठमाडौँ ।
संसद् बैठक रोकेर अध्यादेश ल्याउने लागेको विषयलाई लिएर सत्तापक्ष र विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने ६ दलमध्ये सबैजसो विपक्षी दलहरूले सरकारले संसद् छलेर अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका छन् । तर, विगतमा आफू प्रतिपक्षमा हुँदा अध्यादेशको विरोध गर्ने रास्वपाले भने अध्यादेशका सम्बन्धमा केही बताइसकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबिच सिंहदरबारमा छलफल हुने भएको छ । काठमाडौँमा उपलब्ध सबै सांसदलाई सहभागी हुन भनिएको छ भने छलफलको विषयवस्तुबारे जानकारी दिइएको छैन ।
अध्यादेशसहित समसामयिक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा रास्वपा सभापति रवि लामिछानेसहित उपलब्ध पार्टीका सांसदहरूबिच छलफल हुने भएको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज बिहान ११ बजे अनौपचारिक छलफल राखिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
प्रतिनिधिसभाका विपक्षी दलका नेताहरू छलफलमा जुटेका सकेका छन् । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वान गरेको बैठक सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा ११ बजे बस्ने भएको छ ।































