प्रेमकुमार श्रेष्ठ/काठमाडौं २६ पुस ।
नेपालका ठूला आन्दोलनमा सभा हुने काठमाडौँ खुल्लामञ्चको स्वरुप बदलिँदै गएको छ । हजारौँ सर्वसाधारण एकै पटक उपस्थित हुन सक्ने मञ्चमा अहिले केही सर्वसाधारण अटाउन पनि मुस्किल बन्दै गएको छ ।
नेपालमा राणा शासनदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको आन्दोलन तथा सम्मेलन हुने खुल्लामञ्चलाई पछिल्लो समयमा महानगरपालिकाले भाडामा लगाउँदै आएको छ भने खुल्लामञ्चको अवस्था पनि नाजुक हुँदै गएको छ ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘महानगरपालिकाको भवन निर्माणसम्मका लागि खुल्लामञ्चलार्इ बसपार्कमा प्रयोग गरेका हो, भवन निर्माण पूरा भएपछि भवनको अण्डर ग्राउण्डमा बसपार्क राखिन्छ ।’ उनले भने, ‘अहिले खुल्लामञ्चमा राखिएको बसपार्कबाट आएको वार्षिक ५० देखि ६० लाख आम्दानी रहेको छ जनु महानगरपालिकाको कोषमा जम्मा भएको छ ।’
नेपाली इतिहास बोकेको एक मात्र खुल्लामञ्चको आधा भागमा काठमाडौँको पुरानो बसपार्क सारिएको छ । बागबजारस्थित महानगरपालिकाको जग्गामा रहँदै आएको बसपार्क काठमाडौँ भ्यू टावर बन्ने भएसँगै खुल्लामञ्चमा सारिएको हो । काठमाडौँ यातायात व्यावसायी संघले महानरपालिकासँग वार्षिक करिब ६० लाखमा खुल्लामञ्च भाडामा लिएको हो ।
बसपार्क र पार्किङबाट बाँकी भाग पनि अव्यवस्थित र अस्तव्यस्त रहेको छ । यसैगरी दैनिक सयौँ युवाहरुले भलिबल खेल्ने मैदानको रुपमा खुल्लामञ्च प्रयोग हुँदै आएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता कार्कीले भने, ‘महानगरपालिकाको भवन बनेपछि बसपार्क हटाएर खुल्लामञ्चलार्इ व्यवस्थित र पहिलेकै अवस्थामा लैजान्छौँ ।’ कार्कीले भनेको जस्तो बसपार्क खुल्लामञ्चबाट तत्कालै हट्ने अवस्थामा भने छैन ।
पहिलेको टुँडिखेलअन्तर्गत पर्ने खुलामञ्चको हाल लम्बाई दुई सय पाँच र चौडाइ एक सय ५५ मिटर रहेको काठमाडौं महानगरपालिकाको रेकर्ड छ । खुलामञ्चको कुल क्षेत्रफल भने ५८ रोपनी छ ।
सहरको बीच भागमा रहेको एउटै मात्र खुला ठाउँमा महानगरपालिकाले ध्यान नदिँदा सर्वसाधारण भने चिन्तित भएका छन् । खुल्लामञ्च नजिकै बाटोमा व्यापार गर्दै आएका हरिबहादुर मगर भन्छन्, ‘नेतालार्इ जति भए पनि पैसाले पुग्दैन, खै के भन्ने ।’ नेताले पैसा कमाउनका लागि सरकारी जग्गा भाडामा लगाएको गुनासो गर्ने मगर जस्तै भलिबल खेल हेर्दै गरेका टिकाराम भट्ट पनि आक्रोस पोख्दछन् । उनी भन्छन्, ‘हाम्रो सरकारको सोच राम्रो भएको भए हामी यस ठाउँमा भलिबल खेल्न पाउने थिएनौँ ।’
पछिल्लो समयमा जनआन्दोलन र राजनीतिक परिवर्तनसँगै खुल्लामञ्च पनि इतिहासको पानामा समेटिने जस्तो देखिन्छन् । राजनीतिक भाषणका लागि चिनिँदै आएको खुल्लामञ्चको परिचय फेरिदै पुरानो बसपार्कमा परिणत हुँदै गएको छ ।
राज्यको आँगनमा परिचित खुल्लामञ्च अहिले घर पछाडिको काम नलाग्ने जग्गा भएको छ भने सरकार मौन रहँदै आएको छ ।





























प्रतिक्रिया