सिरोहिया र अजेय सुमार्गीबीचको विवाद अदालत पुग्यो

सिरोहिया र अजेय सुमार्गीबीचको विवाद अदालत पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४ पुस ।

उद्यमी तथा थाहा सञ्चार प्रालिका मालिक अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुप (केएमजी) का मालिक कैलाश सिरोहियाविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै दुई मिडिया टाइकुनबीचको लडाईं रोचक बन्दै गएको छ ।

उक्त गाली बेइज्जती मुद्दामा कैलाश सिरोहिया, उनको लगानीमा रहेको कान्तिपुर पब्लिकेशन्स प्रालि, कैलाशकी श्रीमती तथा पब्लिकेशन्सकी निर्देशक स्वस्तिका सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मालाई विपक्षी बनाइएको छ ।

कानुन व्यावसायी तुलसीबहादुर कार्कीलाई वारेसनामा तोकेर सुमार्गीले मुद्दा दर्ता गराएका हुन् ।

सुमार्गीका वकिल मोहन पोखरेलले बताएअनुसार, २५ करोड क्षतिपूर्तिको माग दाबीसहित मुद्दा दर्ता भएको छ ।

फिरादपत्रमा सुमार्गीले विपक्षीमध्येका कैलाश सिरोहियाले आर्थिक सौदावाजी गरी आफूबाट अनुचित लाभ लिने नियत राखेर आफ्नो इज्जतमा धक्का पुग्ने हिसाबले पटक–पटक झुठा समाचार प्रकाशन गरेको दाबी गरेका छन् ।

योजनाबद्ध रुपमा आफूलाई बद्नाम गराउने, उत्तेजित गराउने र शारीरिक क्षतिसमेत पुर्याउन सक्ने परिस्थितिको सिर्जना गरी गाली बेइज्जती गरेकाले मुद्दा दायर गर्नुपरेको फिरादपत्रमा जिकिर गरिएको छ ।

‘जानीजानी मेरो व्यवसायिक तथा सामाजिक साख मान मर्दन गर्ने, नेपाली जनता, नेपाल सरकार र सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी र अन्तर्राष्ट्रिय छविमा समेत आँच पुर्याउने काम भएकाले गाली बेइज्जती ऐन १०१६ को दफा ३ द्वारा परिभाषित कसुर अनुसार ५ जनालाई सोही ऐनको दफा ५ अनुसार हदैसम्मको कारवाही गरी पाउँ’ दायर मुद्दामा भनिएको छ ।

सुमार्गीले विपक्षीहरुले आफूलाई गरेको गाली बेइज्जतीबाट आफ्ना उद्योगहरुमा नकारात्मक असर पुगेको, बैदेशिक लगानी आउने वातावरण अवरुद्ध भई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिई त्यसको व्याज भुक्तानीमा करोडौँ खर्च हुनुका साथै बैदेशिक लगानीकर्तामा समेत नकारात्मक सन्देश जाँदा ठूलो नोक्सानी व्यहोर्नु परेको फिरादपत्रमा उल्लेख गरेका छन् ।

समाचार स्रोतअनुसार, यस अघि सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका थिए ।

आर्थिक लेनदेनको मामिलामा सिरोहियाबाट सांघातिक हमला समेत गराउन सक्ने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले प्रशासन समक्ष सुरक्षाको माग गरेका थिए । सो निवेदन पुस १२ गते दर्ता गरिएको थियो ।

सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया गु्रपका सञ्चार माध्यममा आफूविरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले उल्लेख गरेका छन् ।

२०७० साल असार १६ गते सिरोहियाकै अनुरोधमा आफूले सिरोहियाको झण्डै ६ रोपनी जग्गा किनेको र एक वर्षपछि सिरोहियाले पुरानै मूल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेको, त्यसपछि सिरोहियाले आर्थिक सौदाबाजी गर्दै धम्की दिएको सुमार्गीले उल्लेख गरेका थिए ।

सुमार्गीले निवेदनमा भनेका छन् –‘जग्गा पुनः मैले सोही मूल्यमा फिर्ता गर्न इन्कार गरेपछि निज कैलाशप्रसाद सिरोहियाले आर्थिक सौदावाजी गर्दै निजले भने बमोजिम नभएमा मलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिनुभएको थियो ।’

त्यसपछि सिरोहियाले कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नेपाल साप्ताहिक,कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरका माध्यमबाट आफू विरुद्ध कपोकल्पित र आधारहीन समाचार संप्रेषण गराएको सुमार्गीको निवेदनमा उल्लेख छ ।

कान्तिपुर दैनिकमा पुस ९ गते प्रकाशित सुमार्गीको २२ अर्ब रकम अवैध भन्ने समाचार पनि झुठा एवं आधारहीन र मनगढन्ते भएको निवेदनमा उल्लेख थियो ।

सुमार्गीको गुनासो छ– पटक–पटक झूठा समाचार प्रकाशन गर्दै मानसिक रूपमा प्रताडित गर्दै आतंकित गराउने र जनमानसमा आफूप्रति नकारात्मक प्रभाव र भ्रम फैलाउने प्रयत्न गरिएको छ ।

सुमार्गीले दिएको निवेदन दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरीय प्रहरी परिसर काठमाडौंमा आवश्यक कारवाहीका लागि पत्राचार गरिसकेको स्रोतले उल्लेख गरेको छ ।

सुमार्गीले जिल्ला प्रशासनमा निवदेन दर्ता गराएपछि कैलाशको पनि भनाइ बाहिर आएको थियो ।

कान्तिपुर दैनिकमा ‘व्यापारी अजेयराज सुमार्गीका शंकास्पद आर्थिक कारोबारसम्बन्धी समाचार कान्तिपुरमा प्रकाशित भएपछि उनले त्यस मामिलालाई विषयान्तर गर्न आफू असुरक्षित रहेको जिकिर गर्दै सञ्चार माध्यमविरुद्ध लाञ्छना लगाएको’ समाचार थियो ।

समाचारमा ‘सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम ‘अवैध रहेको’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ,’ भनिएको थियो ।

‘मैले सुमार्गीलाई करिब तीन वर्षदेखि देखेको पनि छैन । मैले उनलाई धम्की दिएको हो भने कुन माध्यमबाट कहाँ–कसरी दिएँ भन्ने आधार पनि होला नि, प्रशासनले त्यसको निष्पक्ष छानबिन गर्नुप‍र्यो,’ प्रकाशित समाचारमा सिरोहियाले भनेका छन्, ‘त्यो प्रमाणित भएन भने मलाई बदनाम गर्न खोज्ने र व्यावसायिक सञ्चारगृहविरुद्ध आधारहीन लाञ्छना लगाउने व्यक्तिविरुद्ध कारबाही हुनुपर्छ ।’

यसबाहेक उक्त समाचारमा भनिएको थियो, ‘सुमार्गीले नेपालमै अवैध तरिकाले आर्जन गरिएको रकम विदेश लैजाने र त्यसैलाई विदेशी लगानी भन्दै नेपाल भित्र्याएर ‘ह्वाइट मनी’ बनाउने गरेको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ ।’

यसअघि गत बुधवार जनआस्था साप्ताहिकले कान्तिपुरका मालिक कैलाश सिरोहिया र थाहा संचारका मालिक अजेयराज सुमार्गीवबीच गोप्य वार्ता भएको समाचार छापेको थियो । पत्रिकाले उनीहरुबीच दुवईमा रातभर संवाद भएको समाचार पनि प्रकाशित गरेको थियो ।

भेटको समाचारवारे दुवै पक्षबाट कुनै किसिमको सार्वजनिक खण्डन भने बाहिर आएको छैन ।

 

Logo