काठमाडौं । भारतका दुई ठूला दलहरूबीच आलोपालो सत्ता परिवर्तन भइरहने तमिलनाडुको राजनीतिमा यसपटक एउटा नयाँ शक्ति तीव्र गतिमा उदय भएको छ।
तमिलगा भेट्टी कझगम (टीभीके) पार्टीका अध्यक्ष विजय थलापतिले आज आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन् ।
तमिलनाडुका गभर्नर राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको सपथ गराए। २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकहरूको समर्थन प्राप्त गरेपछि विजयलाई शनिबार सरकार गठन गर्न आमन्त्रित गरिएको थियो।
उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) को समर्थन पत्र बुझाउँदै सरकार गठनको दाबी पेश गरेका थिए। यसअघि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र आईयूएमएलले टिभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए।
२३४ सदस्यीय तमिलनाडु विधानसभा निर्वाचनमा टिभीकेले १०८ सिट जितेको थियो। विजय स्वयं दुई सिटबाट निर्वाचित भएकाले एक सिट छाड्नुपर्नेछ। कांग्रेससँग ५ सिट छ भने सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलसँग दुई–दुई सिट छन्। यी दलको समर्थनपछि टिभीके पक्षमा १२१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो।































