काठमाडौं,१२,पुस
नेपालको शान्ति प्रक्रियामा सहयोगका लागि विभिन्न दातृ निकायले दिएको ६४ करोड रुपैयाँ मध्ये केहीले आफूले दिएको अनुदान रकम फिर्ताको माग गरेका छन् । आफूहरूले दिएको रकम समयमै खर्च नभएर फ्रिज भएर बसेको भन्दै केही दातृ निकायले अनुदान रकम फिर्ता गरिदिन सरकारसँग आग्रह गरेका हुन् । ती निकायले शान्तिकोषको सचिवालय मार्फत विभिन्न स्थानमा खर्च गर्न रकम उपलब्ध गराएका थिए । सचिवालय मार्फत सञ्चालित कार्यक्रमहरूको समय समाप्त भएपछि युरोपियन युनियन बाहेकका दाता नेपालबाट फिर्ता भइसकेका छन् । फिर्ता भइसकेका दाताहरू मध्ये जर्मनी बाहेकका मुलुक र निकायले अनुदान बापत दिइएको रकम फिर्ता मागेको शान्तिकोष सचिवालयले जनाएको छ ।
जर्मनीले नेपाललाई दिएको १४ करोड ८४ लाख ३१ हजार ८५३ रुपैयाँ भने फिर्ता नलाने घोषणा गरिसकेको छ । सो रकम मन्त्रिपरिषद्को निर्णय मार्फत राज्यको सञ्चितकोषमा लैजाने तयारी भइरहेको छ । बाँकी रकम भने फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको सचिवालयका वित्तीय व्यवस्थापन निर्देशक तोमनाथ उप्रेतीले बताए ।
जर्मनी बाहेक नर्वेले २० करोड ६ लाख ४४ हजार रुपैयाँ, स्वीजरल्यान्डले २२ करोड २९ लाख ६४ हजार, डेनमार्कले १८ करोड ८८ लाख ९५ हजार, फिनल्यान्डले २ करोड ४० लाख २३ हजार र डीएफआईडीले ४३ लाख ७१ हजार रुपैयाँ गरी नेपाल सरकारलाई अनुदान दिने घोषणा गरेका थिए । दाताको माग अनुसार ६४ करोड ८ लाख ९९ हजार ४ सय रुपैयाँ फिर्ता गर्नु पर्ने अवस्था आएको निर्देशक उप्रेतीले जानकारी दिए ।
राजधानीबाट































प्रतिक्रिया