काठमाडौं,८,पुस
दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन निर्माण गर्न भारतले सामान ओसार्न सुरु गरेको छ । भारत सरकारको स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बिहारको मोतीहारी देखि नेपाल स्थित बाराको अमलेखगन्ज सम्म ७२ किलोमिटर पाइपलाइन निर्माण गर्न आवश्यक सामान ओसार्न सुरु गरेको हो ।
आइओसीले आफ्नै खर्चमा निर्माण गर्ने पाइपलाइनको सामान धमाधम ल्याइरहेको आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘आइओसीले डिसेम्बरको अन्त्य सम्ममा पाइपलाइन निर्माण सुरु गर्ने लक्ष्यका साथ अहिले विभिन्न ठाउँमा सामान पुर्याउने काम गरिरहेको छ,’ उनले भने । सुरुमा रक्सौलबाट निर्माण सुरु गर्ने भनिएको पाइपलाइन मोतीहारी डिपोबाट बनाउन लागिएको हो । रक्सौलबाट मोतीहारी डिपो करिब ३५ किलोमिटर दक्षिणमा पर्छ ।
आइओसीले दुई कम्पनीलाई पाइपलाइन निर्माणका लागि छनोट गरेको छ । ‘एउटाले मोतीहारीबाट र अर्कोले नेपाल प्रवेशद्वार वीरगन्जको बाइपासबाट निर्माण सुरु गर्ने छन्,’ भट्टराईले भने, ‘यसरी दुवै देशबाट एकसाथ पाइपलाइन सुरु हुनेछ ।’ अहिले मौसमका कारण पाइपलाइनको सामान ढुवानीमा समस्या भइरहेको उनले बताए । ‘भारतमा यतिवेला मौसम खराब छ । बिहान मात्र नभई दिनभर हुस्सुले यात्रा गर्न र काम गर्न कठिन भएको आइओसीले जानकारी दिएको छ,’ उनले भने, ‘त्यसैले सामान ढुवानीको काम पनि सुस्त छ ।’
नयाँपत्रिकाबाट





























प्रतिक्रिया