काठमाडौं,६, पुस
खानी तथा भूगर्भ विभाग अन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानी मध्ये चुनढुंगा ५२, क्वार्ज चार, रातोमाटो पाँच, कोइला १४, सिसा तीन, टल्क १२, फलाम तीन, डोलोमाइट एक, मार्बल तीन, स्ल्याब आठ, म्याग्नेसाइट एक, जिङ्क एक, कायनाइट ९, क्याल्साइट एक र टुर्मालिनका १२ रहेका छन् ।
महाशाखाका प्रमुख रामप्रसाद घिमिरे खनिजका लागि महाशाखाले ३६४ स्थानमा अध्ययन गरेपनि जम्मा १२९ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएकोे बताउँछन् । “सबै खोजतलास गरेका ठाँउमा खनिज हुन्छ भन्ने हुँदैन, खनिज पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने हो”– उनले भने । नेपालमा उत्खनन गर्न लागेका खनिज मध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चार खनिजको उत्खनन भारतीय र तीन खनिजको उत्खनन चिनियाँ कम्पनीले गर्न लागेका छन् ।
नेपालमा उत्खनन गरिएका खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्टाइएको छ । ती मध्ये अति महत्वपूर्णमा सुन, चाँदी, हीरा लगायतका बहुमूल्य धातु पर्छन् । महत्वपूर्णमा चुनढुंगा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवा लगायत पर्दछन् । मुलुकमा उत्पादित काइनाइट, टुर्मालिन र क्वार्ज जस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले दुई वर्ष देखि विदेशमा निकासी गर्न नसकिएको महाशाखा प्रमुख घिमिरेले जानकारी दिए।
रासस































प्रतिक्रिया