काठमाडौँ, ५, पुस
शुभ कार्य, मठमन्दिर र घरघरमा गरिने पूजापाठका लागि धूपको प्रयोग अनिवार्य हुने गर्छ। धूपको मुख्य कच्चा पदार्थ भने मुलुककै वनपाखामा फैलिने मिचाहा प्रजातिका झाडी, बुट्यान र वनमारा हुन्।
मुलुकका अधिकांश अगरबत्ती उद्योगले मिचाहा प्रजातिका झार र बुट्यानलाई प्रशोधन गरेर तयार गरिएको ‘चारकोल’लाई मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गर्दै आएका छन् । विगतमा भारतीय कच्चा पदार्थमा निर्भर रहेका नेपाली अगरबत्ती उद्योगले केही वर्षयता स्वदेशी कच्चा पदार्थलाई प्राथमिकता दिएका छन्। प्रायः मुलुकका ठूला धूप उद्योग वीरगन्ज केन्द्रित छन्, अन्य केही ठूला उद्योग हेटौंडा, सिमरा र भैरहवामा समेत सञ्चालनमा छन्।
वीरगन्जका हिमाल, नारायणी, सावित्री, बालाजी, श्री जस्ता ठूला धूप उद्योगले बारा र मकवानपुरका सामुदायिक वनमा उत्पादित चारकोल प्रयोग गर्न थालेका छन्। गुणस्तर तुलनात्मक रूपमा राम्रो रहेको र भन्सार शुल्क समेत नलाग्ने भएपछि मुलुकका व्यवसायी नेपाली चारकोल प्रति आकर्षित बनेका वीरगन्जको हिमाल धूप उद्योगका सञ्चालक प्रकाश खेतानले बताए । ‘अहिले नेपालका धेरै धूप उद्योगले नेपालकै कच्चा पदार्थ प्रयोग गर्न थालेका छन्’, उनले भने– ‘जंगलमा फैलिएको मिचाहा प्रजातिका झार बुट्यान उद्योगको मुख्य कच्चा पदार्थ भएको छ, धेरै स्थानीयले रोजगार समेत पाएका छन्।’
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया