काठमाडौं, २८, मंशिर
प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित सदस्य मध्ये महिलाको हिस्सा जम्मा ३.६४ प्रतिशत छ । १६५ सिटका लागि दुई चरणमा भएको चुनावबाट जम्मा ६ जना महिला प्रतिनिधिसभा सदस्य चुनिएका छन् । राजनीतिक दलले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार नबनाउँदा कम महिलाले मात्र चुनाव जितेका हुन् । पछिल्लो १० वर्षमा पहिलो संविधानसभा देखिको प्रत्यक्ष चुनाव जित्ने महिलाको अवस्था हेर्दा यसपटक सबैभन्दा कम छ । पहिलो संविधानसभामा २९ महिलाले र दोस्रो संविधानसभामा १० जना महिलाले प्रत्यक्षतर्फ चुनाव जितेका थिए । पहिलो र दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ २४० सिटमा चुनाव भएको थियो । संविधान अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा सहितको संघीय संसद्का कुल सदस्य मध्ये ३३ प्रतिशत महिला हुनु पर्छ ।
दलहरुसँग यो प्रतिशत पु¥याउन अब संविधानसभामा समानुपातिक र राष्ट्रियसभाको निर्वाचन विकल्प छन् । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ चुनाव जित्ने महिलामा नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र बिना मगर छन् । त्यसैगरी नेकपा एमालेबाट पवित्रा निरौला, पद्मा अर्याल र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल छन् । भुसाल ललितपुर ३ बाट, रोका पूर्वी रुकुमबाट, मगर कञ्चनपुर १ बाट, निरौला झापा २ बाट, अर्याल स्याङ्जा २ बाट र पौडेल प्युठानबाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा जम्मा १ हजार ९ सय ४५ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये १ सय ४६ जना महिला थिए ।
नागरिकबाट





























प्रतिक्रिया