काठमाडौं,१७,मंशिर
प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन् । शीर्ष नेता लक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ । गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए । ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र विस्फोटका घटनामा पनि त्यही दल दोषी छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने । आफ्नो संलग्नता छैन भनेर विज्ञप्ति ननिकाल्नुले पनि विप्लवको संलग्नता पुष्टि हुने उनले दाबी गरे ।
गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचन विरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे । निर्वाचन विरोधी गतिविधिमा संलग्न हुने विरुद्ध आवश्यक पर्दा गोली समेत हान्ने अधिकार दिइएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिइएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए । मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी विस्फोटका घटना अब पूर्ण रूपमा नियन्त्रणमा आउने जनाएको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया