बाँके,९,मंशिर
ऐलानी जमिनको जग्गाधनी पूर्जा (लालपूर्जा) पाउने आशामा जानकी गाउँपालिका–२, भैयापुरका ७३ वर्षीय जीतराम सुनारले २०३६ सालमा बहुदल (प्रजातन्त्र) को पक्षमा भोट हाले । पञ्चायती र प्रजातान्त्रिक व्यवस्था रोज्ने क्रममा उनले प्रजातन्त्रको पक्षमा मतदान गरे । वि.सं. २०३३ साल देखि बस्दै आएको जमिनको लालपूर्जा बनाई दिने आश्वासन कांग्रेसले दिएपछि आफूले प्रजातन्त्रको पक्षमा मतदान गरेको उनले बताए ।
लाल पूर्जा नपाउँदै भैयापुर स्थित सुकुम्बासी टोलका कयौँको मृत्यू भइसकेको छ । लालपूर्जा हेरेर मर्ने आशा भएको भैयापुरकी ६१ बर्षीया मोती सुनारले बताइन् । उनले लालपूर्जाको अनुहार देख्न नपाउँदै श्रीमानको मृत्यू भएको बताइन् । ‘श्रीमानको पनि त्यही इच्छा थियो, लालपूर्जा देख्न नपाएरै मर्नु भयो,’ उनले भनिन्, ‘लालपूर्जा देखेर मर्न मन छ ।’ झुम्की सुनारले नातीको पनि नाती देखि सकिन् । भैयापुरमै आएर विवाह गरेकी उनको लालपूर्जा पाउने आशै आशामा जीवन तड्पिरहेको छ । ‘तिन पुस्ता देखिसकेँ तर अहिले सम्म जग्गा धनी प्रमाण पूर्जा (लालपूर्जा) देख्न पाएको छैन, सवैथोक पाए पनि जग्गा धनी प्रमाण पूर्जा नपाउँदा नमजा लाग्छ,’ उनले भनिन्, लालपूर्जा पाए सजिलो गरि प्राण जाने थियो ।’ सोही ठाउँका शेरबहादुर सुनारले पनि लालपूर्जा पाए मात्र सुख प्राप्ती हुने बताए । उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा राजनीतिक दललाई सहयोग गरेपनि आफूहरुको समस्या प्रति कोही गम्भिर नभएको बताए । ‘मेरो अन्तिम इच्छा बस्दै आएको जमिनको लालपूर्जा हेर्ने छ,’ उनले भने । उनले कुराको बिट मार्दै नेतासँग गुनासो गर्दै भने, ‘हाम्रै नारा हाम्रै भोट, बिस्र्यौ बाचा दियौ चोट ।’ ‘लालपूर्जा भएको भए मनमा शान्ति हुन्थ्यो,’ उनीहरु भन्छन् ‘लालपूर्जा नहुँदा मनमा सधैँ डर उत्पन्न भइरहन्छ, जसले हामीलाई लालपूर्जा उपलब्ध गराउँछ त्यसैलाई भोट दिइने छ ।’
नयाँपत्रिकाबाट





























प्रतिक्रिया