दार्चुला,७,मंशिर
चमेलिया जलाधार क्षेत्रमा उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न बिहीबार आज दार्चुलाको बलाँच देखि कैलालीको अत्तरिया सम्मको प्रसारण लाइनलाई चार्ज गरिँदैछ । चमेलिया करिडोरमा हाल नौगाड जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ भने ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले केही दिनमै उत्पादनमा जाने तयारी गरिरहेको छ । चमेलिया जलविद्युत् आयोजनाको पावरहाउस दार्चुलाको बलाँच देखि कैलालीको अत्तरिया सम्म १३२ केभी प्रसारण लाइनको परीक्षण सम्पन्न भइसकेपछि चार्ज गर्न थालिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए ।
आयोजना प्रमुख दाहालले भन्नुभयो, चमेलियाले व्यावसायिक उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि हामीले तयारीका लागि प्रसारण लाइनमा करेन्ट प्रवाह गर्न थालेका छौँ । बिहीबार अत्तरिया सव–स्टेसनबाट बलाँच स्टेसन सम्म बिजुली प्रवाह गरी सो प्रसारण लाइन चार्ज गरिने कार्यक्रम छ । १३१ किलोमिटर लामो प्रसारण लाइन चार्ज हुने बेला टावर नछुन र टावरमा नचढ्न आयोजनाले स्थानीय बासिन्दालाई आग्रह समेत गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्रसारण लाइन चार्ज हुने बेला करेन्ट लाग्न सक्ने तर्फ सचेत हुन स्थानीय एफएम तथा स्थानीय पत्रपत्रिकामा सूचना जारी गरिएको र जिल्ला स्थित सबै सरोकारवाला निकायमा पत्राचार गरिसकिएको प्रमुख दाहालले बताउनुभयो । यो प्रसारण लाइनमा ४१२ वटा टावर निर्माण गरिएका छन् ।
गोरखापत्रबाट





























प्रतिक्रिया