चितवन ,६,मंशिर
मंगलबार चितवनमा वामगठबन्धनको संयुक्तसभा थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको जिल्ला भएकाले यो सभाबारे धेरैको चासो थियो । चासो यसकारण पनि बढेको थियो कि, पुत्रवियोगको तेस्रो दिन नै प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी हुँदै थिए । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनु परे पनि मंगलबार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर उनी र परिवारका सदस्य निकै ठूलो पीडामा देखिन्थे ।
चितवनको आमसभामा सहभागी हुन प्रचण्ड पत्नी सीता, छोरीहरू, बुहारी र नातीनातिना सहित मंगलबार बिहान गृहजिल्ला भरतपुर पुगेका थिए । सभामा सहभागी हुनु अघि केही समय पहिले प्रचण्ड र उनको परिवार एमाले तथा माओवादीका नेताहरूसँगै रह्यो। ११ बजे सुरु हुने भनिएको आमसभा तीन घण्टा अवेर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र प्रचण्ड पौने २ बजे सभास्थल पुगेका थिए । दुवैले हात हल्लाएर सभामा उपस्थित भएकाहरूलार्इ अभिवादन गर्दै ओली र प्रचण्ड सभामा प्रवेश गरेको ५ मिनेटपछि प्रचण्ड पत्नी तथा स्व. प्रकाश दाहालकी आमा सीता मञ्चमा पुगिन् । उनलाई सहयोगीहरूले जसोतसो समाएर मञ्चमा पुर्याएका थिए । प्रचण्डसँगै बसी सीता निकै भावुक देखिन्थिन् । उद्घोषक, वक्ताहरुले जबजब प्रकाश दाहालको नाम लिन्थे उनी थप पीडामा देखिइन् । सम्हालिन नसकेपछि सीता मञ्चमै डाको छोडेर रोइन् । सँगै रहेका प्रचण्डले जसोतसो आफूलार्इ सम्हालिरहे । आफूलाई मात्र होइन, उनले सीतालाई पनि सम्हाल्न निकै प्रयत्न गरे । पुत्र वियोगमा परेकी आमाको मन किन सम्हालिन्थ्यो र ? प्रचण्डको जोड नलागेपछि पछिल्लो लाइनमा बसिरहेकी प्रचण्डकी छोरी रेणु अघि बढिन् । आमालार्इ सम्हाल्न खोजिन् । सीतालाई सम्झाउन प्रचण्डलार्इ झैँ रेणुलाई पनि निकै गाह्रै परेको स्पष्ट देखिन्थ्यो ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया