बाँके, ५, मंशिर
आ–आफ्ना एजेन्डा लिएर उम्मेदवार र राजनीतिक दलका नेताहरू गाउँगाउँमा पुगिसकेका छन् । गाउँ र टोलमा उम्मेदवारका फोटो सहितका पर्चा, पम्प्लेट यत्रतत्र देख्न सकिन्छ । तर मतदान गर्ने विषयमा नै मतदाता अन्योलमा छन् । उम्मेदवार र राजनीतिक दलका नेताहरू भोट माग्न आए पनि कसरी मतदान गर्ने भन्ने विषयमै आफू जानकार नरहेको राप्ती–सोनारी गाउँपालिका–६ की विद्या गुरुङले बताइन् । उनले ३ वटा मतपत्र भएको विषयमा जानकारी भए पनि मतपत्रमा स्वस्तिक छाप कसरी लगाउने र मतपेटिकामा भोट कसरी खसाल्ने विषयमा अन्योल रहेको बताइन् ।
उनले अहिले सम्म मतदाता शिक्षाका लागि स्वयंसेवकहरू गाउँमा नआएको बताइन् । ‘तीन वटा मतपत्र छ भन्छन् । अहिले सम्म मतपत्र देखेको छैन ।स्वस्तिक छाप कसरी लगाउने र मतपेटिकामा पतपत्र कसरी खसाल्ने जानकारी छैन,’ उनले भनिन् । मतपत्रबारे कुनै जानकारी नभएको डुडुवा गाउँपालिका–१, खडैचाका राजकुमार शुक्लाले बताए । उनले मतदाता शिक्षाका लागि गाउँमा कोही नआएकाले गाउँका धेरैजसोलाई मतदान र मतपत्रबारे जानकारी नभएको बताए । ‘पहिलेको निर्वाचनमा भएको मतपत्र जस्तै अहिले पनि होला भन्ने लागेको छ,’ उनले भने । यता मतदाता शिक्षाका लागि गाउँ–गाउँमा स्वयंसेवक परिचालन गरिएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख वसन्त अधिकारीले बताए । उनले प्रत्येक मतदान केन्द्रमा एकजनाका दरले बाँकेमा ३२७ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया