बैतडी, ३, मंसिर
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बैतडीमा शुक्रबार देखि प्रशिक्षण शुरु भएको छ । जिल्लामा दुई चरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइने भएको छ । मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासँग गर्नुपर्ने व्यवहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामका बारेमा जानकारी दिनका लागि सदरमुकाममा प्रशिक्षण शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए ।
पहिलो चरणको कार्यक्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १९० जना सहभागी भएका छन् । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका विभिन्न पदका कर्मचारी छनोट गरेर प्रशिक्षण दिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । मंसिर १० गते पहिलो चरणमा हुने चुनावका लागि १ हजार ४५० जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारीको नामावली तयार पारिसकेको र मंसिर ५ गतेबाट मतदान केन्द्रमा कर्मचारी परिचालन गरिने बताइएको छ । बैतडीमा १८२ जना मतदान अधिकृत र १८२ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिने भएका छन् । १ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा १२० मतदानस्थल रहेका छन् ।
रासस





























प्रतिक्रिया