काठमाडौं,२६,कात्तिक
निर्वाचन आयोगले २५ कात्तिक अर्थात हिजोबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । निर्धारित कार्यतालिका भन्दा १५ दिन ढिला गरी आयोगले मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता परिचालन गरेको हो । प्रदेश र प्रतिनिनधिसभा निर्वाचनका लागि एउटै पानामा दुई वटा मतपत्र छाप्ने तयारी गरेको आयोगले सर्वोच्च अदालतले छुट्टाछुट्टै पानामा मतपत्र तयार गर्न आदेश दिएपछि मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको जनाएको छ । आयोगले प्रत्येक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता परिचालन गरेको छ । झन्डै २० हजार मतदाता शिक्षा स्वयंसेवी खटिने भएका छन् । आयोगले स्थानीय तह निर्वाचनपछि गरेको मतदान केन्द्र पुनरावलोकन अनुसार अहिले १९ हजार ८०९ मतदान केन्द्र छन् ।
आयोगले प्रत्येक स्थानीय तहमा नमुना मतदान गराउँदै छ । ‘मतदानमा बदर प्रतिशत घटाउन र मतदान झन्झटिलो नहोस् भन्न नमुना मतदान गराइनेछ,’ प्रवक्ता नवराज ढकालले भने । त्यसो गर्दा ७५३ स्थानमा नमुना मतदान हुनेछ । मतदाता शिक्षाका लागि आयोगले १८ लाख प्रति नमुना मतपत्र छापेको छ । नमुना मतदानका लागि आयोगले ११ लाख समानुपातिकका लागि नमुना मतपत्र छापेको हो । निर्वाचन क्षेत्र अनुसार फरकफरक ढाँचाका मतपत्र हुने भएकाले नमुना मतदान पनि त्यसै अनुसार गर्नुपर्नेछ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया