चितवन, २६, कात्तिक
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड गए राति ९ः३० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकको सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिँदा साढे ११ घण्टापछि एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको हो । सबै चट्टान फोरेर हटाउन नसक्दा हिजो दुईतर्फी गाडी सञ्चालन गर्न नसकिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिए । बिहानै देखि रोकिएका मोटरसाइकल र साना सवारीहरु शनिवार ढिलो गरि गन्तव्य तर्फ पठाईएको छ । ठुला गाडी छिर्न अझै केही ढुंगा पन्छाउनुपर्ने आयोजनाले जनाएको छ ।
सार्वजनिक सूचना जारी गरेर शनिवार विहान १० देखि ५ बजेसम्म सडक बन्द गरी चट्टान हटाउने कार्य गरिएको आयोजनाले जनाएको थियो । निर्धारित समयमा काम नसकिंदा सडकको दुईतर्फ नै विहानदेखि रोकिएका सयौँ सवारी तथा यात्रुहरु दिनभर प्रभावित भएका थिए । यात्रुहरुको समस्यालाई ध्यान दिंदै रातिदेखि एकतर्फी सडक खुलाईएको आयोजनाले जनाएको छ । दिनभरको प्रयासमा हिजो अपरान्ह ४ः४५ बजे ढुंगालाई भित्ताबाट बल्ल सडकमा झारिएको थियो । त्यसपछि फुटाएर ढुंगो हटाउने काम शुरु गरिएपनि अझै सकिएको छैन । आइतबार देखि भने कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा विचविचमा सडक रोक्दै काम अघि बढाइनेछ । आइतवार देखि एकहप्ता परिक्षण स्वरुप विहान ७ बजे देखि ८ः३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । उक्त सडकको ३६ किलोमिटर क्षेत्रमा तीन व्लक छुट्याएर सडक चौडा पार्ने काम जारी छ ।
रासस





























प्रतिक्रिया