काठमाडौं,२५, कात्तिक
बजारमा तरलता (लगानीयोग्य पुँजी) सहज हुँदै गएपछि अहिले बैंकहरूले घर कर्जालाई खुकुलो बनाएका छन् । घर कर्जालाई लक्षित गर्दै बैंकहरूले आर्कषक योजना ल्याउन प्रतिस्पर्धा नै चल्न थालेको छ । गतवर्ष बैंक तथा वित्तीय संस्थाहरूले जथाभावी घर कर्जा प्रवाह गराएका कारण बैंकिङ क्षेत्रमा तरलताको चरम समस्या आएको थियो । जतिबेला राष्ट्र बैंकले घरजग्गा लगानीमा कडाइ गरेको थियो । त्यस बेलादेखि बैंकहरूको कर्जा प्रवाहमा शंकुचन आएको थियो । तर अब तरलता सहज भएकाले बैंकहरूले घर कर्जामा लगानी बढाउन थालेका छन् । घर कर्जाका लागि बैंकहरूले लामो समयावधि राखेर कर्जा सम्बन्धी योजना सार्वजनिक गर्ने लहर चलेको छ । एनएमबी बैंकले ३५ वर्षे समयावधि भएको घर कर्जा योजना अघि सारेको छ । ३५ वर्ष समय अवधि बैंकिङ क्षेत्रका लागि पहिलो हो । अहिले सम्म बैंकहरूले यति लामो समयावधि राखेर घर कर्जा प्रवाह गरेका थिएनन् । एनएमबी बैंकले यस कर्जाका लागि १० दशमलव ५ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी एनआईसी एसिया बैंकले ५ वर्ष देखि अधिकतम २५ वर्षसम्मको अवधिका लागि घर कर्जा उपलब्ध गराउने योजना अघि सारेको छ ।
यस बैंकले घर कर्जाको १० दशमलव ८ प्रतिशत ब्याजदरमा उपलब्ध गराएको छ । त्यस्तै प्रभु बैंकले न्यूनतम १० दशमलव ५ प्रतिशत देखि अधिकतम ११ दशमलव ७५ प्रतिशत सम्म ब्याजदरमा घर कर्जा उपलब्ध गराउने योजना अघि सारेको छ । बैंकले विगत वर्ष देखि २५ वर्षसम्मको अवधिका लागि घर कर्जा उपलब्ध गराइरहेको छ । त्यसैगरी लक्ष्मी बैंकले घर निर्माणका लागि दुई प्रकारको ब्याजदरमा कर्जा योजना अघि सारको छ । बैंकले भइराखेको घर धितोमा राखी कर्जा लिन चाहनेहरूका लागि १३ दशमलव १६ प्रतिशतमा र नयाँ घर खरिदका लागि १२ दशमलव ६६ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
राजधानीबाट





























प्रतिक्रिया