भारतको रोजगारले सुनसान गाउँ जहाँ पुरुष भेटिनै छाडे

भारतको रोजगारले सुनसान गाउँ जहाँ पुरुष भेटिनै छाडे

केन्द्रबिन्दु
0
Shares

अछाम, २४ कात्तिक । केही वर्ष पहिले निकै चहलपहल हुने नौलाकोट गाउँ अहिले सुनसान जस्तै बनेको छ । 

अछामको साँफेबगर नगरपालिका वडा नं ३ मा दलित परिवारको बाहुल्यता रहेको गाउँमा आजभोलि पुरुष भेटिनै छाडेका छन्, भेटिन्छन् त केवल वृद्धवृद्धा, महिला र केटाकेटी मात्र । यहाँका विवाहित र अविवाहित पुरुष रोजगारका लागि भारत गएका छन् । 

एकानब्बे वर्षीया वृद्धा रम्बा विक घरमा एक्लै बस्छन । उनका छोरा, बुहारी, नातिनातिनी सबै भारतको पुणेमा बस्दै आएका छन् । “छोराबुहारीलाई कहिलेकाहीँ बम्बै भेट्न जान्छु, आफूलाई त्यता बस्न निको लाग्दैन, आफ्नै गाउँघर राम्रो लाग्छ,” उनी भन्छन एकाहरु तीन वर्ष पहिले खेतीपाती लगाउने समयमा गाउँ फर्किन्थे र लगाइसकेपछि कमाउनका लागि भारत जाने गर्थे तर अब खेतीपाती लगाउने कुरा त धेरै टाढाको हो चाडबाडमा समेत गाउँ फर्किंदैनन् । 

अर्थाभावका कारण कक्षा ८ पढ्दै गरेका पनि बीचमै पढाइ छोडेर भारत जाने गरेका छन्् । गाउँमा कोही बिरामी भयो भने अस्पतालसम्म लैजाने पुरुष कोही पनि छैन । मीना विकको श्रीमान् बितेको पाँच वर्ष भयो । उनका चार छोरामध्ये जेठा र माइलो छोरा कमाउन भारत गएका छन् । घरमा उहाँ र साना दुई छोरा मात्र छन् । 

भारतमा रोजगार गर्दै आएका भरत विकले आफ्नो देशमा रोजगारको कुनै अवसर नभएपछि अर्काको देशमा गएर काम गरेर परिवार पाल्नु पर्ने बाध्यता भएको बताउनुभयो । “जागिर पाउने ठाउँमा पनि पहुँचवालाको मात्र चल्छ, क्षमता भए पनि हामी जस्ताको भनसुन गरिदिने कोही हुँदैन त्यसैले गाउँमा त्यसै बरालिएर बस्नुभन्दा दुईचार पैसा कमाइ पनि हुन्छ,” उनी भन्छन– “त्यसैले मजस्ता युवा भारततिर पस्छन् । रोजगारका लागि भारत गएकाहरु कमाइ राम्रै हुन थालेपछि पछि गएर सपरिवार उतै बस्ने गरेका छन् ।” 

गाउँका चार घर पूर्णरुपमा खाली भइसकेका छन् । आफूसँगैका साथीहरु बीचमै पढाइ छोडेर भारत गएको देखेर कक्षा ८ मा पढ्दै गरेका नरेश विकलाई पनि गाउँमा बसेर पढ्ने मन छैन । उनी भन्छन-, “केही वर्ष पढेर म पनि कमाउन बम्बै जान्छु । गाउँमा बसेर केही काम छैन । जति पढे पनि हामी जानुपर्ने बम्बै नै हो ।” 

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर अब युवालाई स्थानीयस्तरमै रोजगारको व्यवस्था मिलाउने बताउछन् । “अहिलेका युवा स्वदेशमा कुर्चीमा बस्ने जागिर खोज्छन्, तर विदेशमा गएर चौबीसै घण्टा कडा परिश्रम गर्न बाध्य छन्,” उनले भने– “अब आफ्नै गाउँ ठाउँमा विभिन्न सीपमूलक तालीम प्रदान गरेर गाउँघरमै रोजगारको सिर्जना गर्ने योजना छ ।”

कुँवरले ‘एक घर एक रोजगार’ र कृषिमा आधुनिकीकरणलगायत विकासका काम आफ्नो पहिलो प्राथमिकता भएको बताए । अछामका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिकालाई सुगम र मुख्य व्यापारिक केन्द्र मानिन्छ । रासस

Skip This
Skip This
Logo