झापा,२४, कात्तिक
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को झापामा एकैपटक स्वास्थ्य परीक्षण गरिने भएको छ । बिर्तामोडमा मंसिर २ गते देखि आयोजना हुन लागेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा ओली र प्रचण्डको स्वास्थ्य जाँच गरिने भएको हो । बिर्तामोडको बी एण्ड सी टिचिङ हस्पिटलले मंसिर २ देखि ८ गते सम्म ६ दिन महोत्सव सञ्चालन गर्ने भएको छ । हस्पिटलले विहिबार पत्रकार सम्मेलन गर्दै महोत्सवको उद्घाटन एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले संयुक्त रुपमा गर्ने जनाएको हो । स्वास्थ्य महोत्सव उद्घाटनका दिन दुबै नेताको एमआरआई गर्ने आफूहरुको लक्ष्य रहेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए । हस्पिटलमा अत्याधुनिक प्रविधिका उपकरण भएकाले दुबै नेताको शरीर पूरै जाँच गर्ने आफ्नो उद्देश्य रहेको प्रसाईंले सुनाए । ‘महोत्सवले मेची अञ्चलबासीलाई फाइदा पुग्नेछ,’ हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले भने, ‘महोत्सवमा १० हजार जनाले स्वास्थ्य सेवा लिने हाम्रो अपेक्षा छ ।’ स्वास्थ्य महोत्सवका अवसरमा हस्पिटलले सिटी स्क्यान, एमआरआई, रेडियोलोजी लगायतमा १५ प्रतिशत छुट दिने जनाएको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया