काठमाडौं , २०, कात्तिक
उद्योगी तथा व्यवसायीले आफूखुसी मूल्य र कम तौल राखी विभिन्न वस्तुहरुको बिक्री गरेको ठहर गर्दै कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी दर्ता गरे पनि कुनै प्रक्रिया अगाडि बढेको छैन । उद्योग स्थापना गरेर नापतौलमै घोटाला गर्ने कम्पनी माथि उपभोक्तावादी संस्थाले कारबाहीको माग राख्दै सम्बन्धित निकायमा उजुरी दर्ता गराएसँगै सो उजुरीलाई निष्क्रिय बनाउने काम भइरहेको शंका उपभोक्तावादीहरुले गरेका छन् ।
उच्चपदस्थ कर्मचारी र दलका नेताको संरक्षणमा सञ्चालित कम्पनीहरुबाटै मापदण्ड विपरीत सामान उत्पादन गर्दै तोकिएको तौल भन्दा पनि कम राखी बिक्रीवितरण गरेको अनुगमनको क्रममा भेटिएपछि तत्काल कारबाहीको माग राख्दै उजुरी दर्ता गर्दा समेत सरकारले कारबाही गर्न सकेको छैन । पछिल्लो समयमा प्राप्त विवरण अनुसार राष्ट्रिय उपभोक्ता मञ्चले स्थलगत अनुगमन गर्दा पर्सामा उद्योग भएको ‘माँ दुर्गा फुड्स प्रालि’ले तोकिए भन्दा कम तौलमा सामान उत्पादन गरी उपभोक्ता ठगी गरेको ठहर गर्दै सम्बन्धित निकायमा उजुरी दिएको सो मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
महर्जनका अनुसार सो कम्पनीको अनमोल ब्राण्डको आँटामा पाँच किलो हुनुपर्नेमा चार किलो आठ सय ३८ ग्राम मात्र राखी प्याकिङ लगायत अन्यमा समेत सोही अनुपातमा प्याक गरेको भेटिएपछि कारबाहीका लागि उजुरी गरिएको छ । यसअघि विराटनगरमा नापतौलमा अनियमितता गरी उपभोक्तालाई ठगी गर्ने पूर्वाञ्चलका दुई हजार छ सय ७५ व्यवसायी एवं व्यापारीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले कारबाही गरे पनि सो कम्पनीलाई भने अहिले सम्म कारबाही हुनसकेको छैन ।
आर्थिक दैनिकबाट





























प्रतिक्रिया